काठमाडौं । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार जारी गरेको आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा हुलदङ्गाका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका–३ को कहरहा खोलादेखि पश्चिममा चौर्हवा चोकसम्म, उत्तरमा वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू हुनेछ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश जारी नभएसम्म कायम रहनेछ।
प्रशासनले आदेशको पूर्ण पालना गर्न तथा जिल्लामा शान्ति र सुरक्षा कायम राख्न सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। कर्फ्यु आदेश उल्लङ्घन गरी कुनै पनि गतिविधि सञ्चालन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रशासनका अनुसार सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ। स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।




