काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै घटनामा सरकारको पहल पर्याप्त नभएको आरोप लगाए।
विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएको प्रदर्शन मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट सुरु भई जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेको थियो।
प्रदर्शनका क्रममा ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाइएको थियो। प्रशासन कार्यालय आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने सम्भावित अवस्थालाई ध्यानमा राख्दै ब्यारिकेटसमेत राखिएको थियो।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि विभिन्न जिल्लामा विरोध प्रदर्शन हुँदै आएको छ। यसैबीच, हिन्दू सम्राट नेपाल मोरङ जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।



