काठमाडौं । राहदानी विभागमा पासपोर्ट बनाउने सेवाग्राहीको चाप बढेपछि ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको आवेदन दिने समय दुई दिन थप गरेको छ।
शाखाले बिहीबार सूचना जारी गर्दै आवेदनको अन्तिम म्याद साउन २० गतेसम्म कायम गरिएको जनाएको छ।
ईपीएस कोरिया शाखाका अनुसार राहदानी विभागमा बढेको भीडका कारण योग्य तथा इच्छुक नागरिक आवेदन दिनबाट वञ्चित नहून् भन्ने उद्देश्यले आवेदन अवधि थपिएको हो।
शाखाले हाल राहदानीको म्याद समाप्त भइसकेका आवेदकलाई पनि सोही राहदानीको विवरण प्रविष्टि गरी आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ। भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन फाराम भर्ने समयमा भने बहाल रहेको (म्याद बाँकी भएको) राहदानी पेश गरे पुग्ने व्यवस्था गरिएको छ।
यता, राहदानी विभागले पनि ईपीएस आवेदनका लागि पासपोर्ट बनाउन आउने सेवाग्राहीको चाप बढेको भन्दै शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्ने जनाएको छ।




