काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय मधेश केन्द्रित जिल्लाहरूमा विकसित घटनाक्रमप्रति सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा राज्य अझ जिम्मेवार ढंगले प्रस्तुत हुने बताएका छन्। उनले शान्ति, सामाजिक सद्भाव र नागरिकको सुरक्षालाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, समुदायका नेतृत्वकर्ता तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद र समन्वय भइरहेको जानकारी दिए।
उनले संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट सूचना, अफवाह र घृणा फैलाउने सामग्रीको प्रचार–प्रसार नगर्न सबैलाई आग्रह गरे। यस्ता गतिविधिले समुदायबीच अविश्वास र वैमनस्य बढाउने भएकाले संयमता अपनाउनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामाथि मात्रै विश्वास गर्न नागरिकलाई अनुरोध गर्दै भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरे।
सम्बोधनका क्रममा उनले प्रत्येक नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र देशमा शान्ति कायम राख्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकार त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्रीले सबै पक्षलाई संयम, जिम्मेवारी र आपसी विश्वास कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न पनि आह्वान गरेका छन्।




