२०८३ आश्विन १

सुनसरी घटनामा गोली चलाउने आदेशबारे छानबिन गर्न राप्रपाकी ओलीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डमा कसको आदेशमा गोली चलाइएको हो भन्ने प्रश्न उठाएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको उल्लेख गरेकाले घटनाको वास्तविकता स्पष्ट गर्न सरकारसँग माग गरिन्।

उनले गोली प्रहरीले चलाएको भए आदेश दिने व्यक्ति को हो भन्ने प्रश्न गर्दै राज्यबाट भएका गोली प्रहारका घटनामा जवाफदेहिता आवश्यक रहेको बताइन्।

सांसद ओलीले स्थानीय तह, प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीबाट आएका विवरणमा फरक–फरक धारणा देखिएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय आयोगमार्फत निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन्।

उनले राज्यका सुरक्षा निकायबाट भएका गोली प्रहारका घटनामा फरक मापदण्ड हुन नहुने बताउँदै अनुमान र औपचारिक वक्तव्यभन्दा बाहिर गएर घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारलाई आग्रह गरिन्।

Read More

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न नहुने सांसद राईको भनाइ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले अन्य विषयमा अडान राख्न सक्ने भए पनि राष्ट्रियताको सवालमा जिद्दी गर्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउन माग गरिएको लामो समय बितिसक्दा पनि सुनुवाइ नभएको गुनासो गरे।

उनले देशका विभिन्न स्थानमा हिंसाका घटना भइरहे पनि सरकार बेखबर रहेको आरोप लगाए। सांसद राईले सरकार कहाँ छ भन्दै प्रश्न गर्दै अब सरकार जनतामाझ आउनुपर्ने बताए।

उनले देशमा संकटको अवस्था सिर्जना भइरहँदा प्रधानमन्त्री र गृहमन्त्री संसदमा उपस्थित हुनुपर्ने धारणा राखे। सरकार बाहिर निस्केर जनताको समस्या बुझ्नुपर्ने भन्दै उनले बल प्रयोग गरेर समस्या समाधान नहुने बताए।

सांसद राईले देशको पूर्वदेखि पश्चिमसम्मका नेपाली एकताबद्ध भएर संयमित रूपमा अघि बढ्नुपर्ने उल्लेख गरे। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आह्वान गरेको सर्वदलीय बैठक सकारात्मक भए पनि अहिलेको अवस्थामा पर्याप्त नभएको उनको भनाइ थियो।

Read More

राहदानी सेवा अब दुई सिफ्टमा, सेवाग्राहीको सहजताका लागि विभागको नयाँ व्यवस्था

काठमाडौं। राहदानी बनाउन सेवाग्राहीले भोग्दै आएको लामो लाइन र समय अभावको समस्या समाधान गर्न राहदानी विभागले विद्युतीय राहदानी (e-Passport) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।

विभागले बिहीबारदेखि लागू हुने गरी आगामी साउन २२ गतेसम्म विशेष व्यवस्था गरेको जनाएको छ। सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले दैनिक सेवालाई दुई चरणमा विभाजन गरिएको हो।

विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।

यस व्यवस्थाले कर्मचारी, विद्यार्थी तथा टाढाबाट आउने सेवाग्राहीलाई आफ्नो अनुकूल समयमा राहदानीसम्बन्धी काम गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, नियमित कार्यदिनमा आउन नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै शनिबार तथा अन्य सार्वजनिक बिदाका दिनमा पनि विभाग खुला रहने भएको छ। बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइने विभागले जनाएको छ।

विभागको यो निर्णयले राहदानी सेवामा देखिएको चाप घटाउनुका साथै सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

Read More

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता र राहदानी वितरण

काठमाडौं । झापाका प्रशासनिक निकायबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी २४ हजार ८५१ जनाले नागरिकता र २४ हजार ४६६ जनाले राहदानी प्राप्त गरेका छन्। नागरिकता र राहदानी लिनेको सङ्ख्या लगभग बराबर हुनुले युवाहरूको वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम कायमै रहेको देखिएको छ।

गत आवमा ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन्। बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई कानुनी व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता दिइएको हो।

यस अवधिमा झापामा ९७ हजार ४७७ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ भने ९८ हजार ६८९ थान राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहसँगै राजस्व सङ्कलनमा पनि योगदान पुर्‍याएको छ। गत आवमा राहदानी शुल्क र अन्य प्रशासनिक शुल्क गरी कुल रु १५ करोड ३१ लाख २३ हजार ५११ राजस्व सङ्कलन भएको जनाएको छ।

त्यस्तै, मिटरब्याज, नियामक निकाय तथा ठाडो उजुरीसम्बन्धी ४७९ वटा निवेदन फछ्र्योट गरिएको छ भने ९२९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताए। सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालन गरिएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएको उनले जानकारी दिए।

Read More

सर्पदंशबाट हुने मृत्यु घट्दै, भरतपुर अस्पतालमा उपचार प्रभावकारी

काठमाडौं। पछिल्ला वर्षहरूमा सर्पदंशका कारण हुने मृत्युमा उल्लेख्य कमी आएको छ। समयमै अस्पताल पुग्ने र उपचार सुविधा विस्तार भएपछि सर्पदंशका बिरामीको ज्यान जोगिने दर बढेको हो।

भरतपुर अस्पतालका अनुसार गत आर्थिक वर्षमा ४९१ जना सर्पदंशका बिरामीले उपचार लिएका छन्। तीमध्ये कसैको पनि मृत्यु भएको छैन। १४ जनालाई भने सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो।

अस्पतालका चिकित्सकका अनुसार पहिले विषालु सर्पको टोकाइबाट मृत्यु हुने दर उच्च थियो। सघन उपचार कक्ष र एन्टिस्नेक भेनमको प्रभावकारी प्रयोगपछि मृत्युदर घट्दै गएको छ।

चितवनसहित नवलपुर, मकवानपुर र तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन्। वर्षायाम र खेतीपातीको समयमा सर्पदंशका घटना बढी हुने चिकित्सकहरू बताउँछन्।

विषालु सर्पले टोकेमा कमजोरी, आँखाको परेला झर्नु, हातखुट्टा चलाउन नसक्नु, वान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। सर्पले टोकेपछि दौडधुप नगरी शान्त रहन, टोकेको भागलाई स्थिर राख्न र तत्काल अस्पताल पुग्न चिकित्सकले सुझाव दिएका छन्।

Read More

बिर्तामोडमा आगलागी हुँदा तीन घर पूर्ण रूपमा नष्ट

काठमाडौं। झापाको बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठले बनेको दुईतले घरमा विद्युत् सर्ट भएर आगो लागेको थियो। उक्त आगो फैलिएर तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएका हुन्।

आगलागीबाट भरत पोख्रेलको एकतले घर र सारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा क्षति भएको प्रहरीले जनाएको छ।

बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

Read More

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। उनले समितिलाई पीडितहरूसँग तत्काल वार्ता सुरु गर्न निर्देशन दिएका छन्।

समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई तोकिएको छ। समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बस्ने र सोही बैठकपछि आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्ने तयारी रहेको छ।

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्दै विपक्षी दलद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन्। बिहीबार बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोध जनाएका हुन्।

विरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद बास्ना थापालाई आफ्नो भनाइ राख्न समय दिएका थिए।

सांसद थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे जवाफ कहिले आउने भन्दै प्रश्न गरिन्। उनले उक्त विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने माग राखिन्।

Read More

धर्मका नाममा दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभारा माता’ भनिने समीर थापा पक्राउ

काठमाडौं । धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्ने क्रममा एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट समीर थापालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ‘पाथीभारा माता’ भनिने थापालाई वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार थापाले धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्ने भन्दै एक महिलामाथि दुर्व्यवहार गरेको आरोप छ। सामाजिक सञ्जालमार्फत तस्बिर तथा भिडियो सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि उनलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

३२ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका ३२ भन्दा बढी जिल्लाका साना नदीहरूमा आज आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र संखुवासभाका आसपासका नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। त्यस्तै, बागमती प्रदेशका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ आसपासका नदीमा पनि मध्यम बाढीको सम्भावना रहेको छ।

यसैगरी गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ र म्याग्दी, कर्णाली प्रदेशको हुम्ला तथा सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला आसपास भएर बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले काठमाडौंलगायत पहाडी क्षेत्रमा वर्षा भए पनि तराईका धेरै स्थानमा पर्याप्त वर्षा हुन सकेको छैन। उनले आगामी साता न्यून चापीय रेखा नेपाल नजिक आउने र देशभर वर्षा हुने सम्भावना रहेको बताए। आगामी सातामा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

Read More