काठमाडौं । धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्ने क्रममा एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट समीर थापालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ‘पाथीभारा माता’ भनिने थापालाई वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
प्रहरीका अनुसार थापाले धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्ने भन्दै एक महिलामाथि दुर्व्यवहार गरेको आरोप छ। सामाजिक सञ्जालमार्फत तस्बिर तथा भिडियो सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



