२०८३ श्रावण १४

३२ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका ३२ भन्दा बढी जिल्लाका साना नदीहरूमा आज आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र संखुवासभाका आसपासका नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। त्यस्तै, बागमती प्रदेशका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ आसपासका नदीमा पनि मध्यम बाढीको सम्भावना रहेको छ।

यसैगरी गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ र म्याग्दी, कर्णाली प्रदेशको हुम्ला तथा सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला आसपास भएर बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले काठमाडौंलगायत पहाडी क्षेत्रमा वर्षा भए पनि तराईका धेरै स्थानमा पर्याप्त वर्षा हुन सकेको छैन। उनले आगामी साता न्यून चापीय रेखा नेपाल नजिक आउने र देशभर वर्षा हुने सम्भावना रहेको बताए। आगामी सातामा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।