काठमाडौं। झापाको दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन्।
प्रारम्भिक विवरणअनुसार ६० जना किसानको रु २२ लाख ६५ हजार २०० बक्यौता रकम प्रमाणित भइसकेको छ। पीडित किसानका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै रहेको छ। लामो समयसम्म भुक्तानी नहुँदा पशुका लागि दाना खरिद, घरायसी खर्च व्यवस्थापन तथा अन्य आवश्यक काममा समस्या भएको किसानहरूले बताएका छन्।
सहकारीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै पीडित किसानहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिएका छन्। उजुरीमा वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
सहकारीका अध्यक्ष हिमालयप्रसाद दाहालले किसानको दूध बिक्रीबापतको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै अघिल्लो व्यवस्थापनदेखि नै संस्थाको आर्थिक अवस्था कमजोर बन्दै गएको कारण समस्या उत्पन्न भएको बताए। उनले सहकारीबाट आफूहरू फरार नभएको र संस्थाको जग्गाजमिन तथा अन्य सम्पत्ति बिक्री गरेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाए।
दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईंका अनुसार उक्त सहकारीले पछिल्ला दुई वर्षदेखि संस्था नवीकरण गरेको छैन। साथै, साधारण सभा तथा संस्थाको वित्तीय अवस्थाबारे नगरपालिकालाई नियमित जानकारीसमेत नआएको उनले बताए। हाल नगरपालिकाले सहकारीको अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ।




