काठमाडौं। विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार लाजिम्पाटस्थित बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उक्त डान्स क्लबले भारतीय नागरिकलाई कुटपिट गरी बढी रकमको बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न लगाउने गरेको पाइएको छ। पक्राउ परेकाहरूले प्रहरी कर्मचारीको काममा समेत बाधा पुर्याउनुका साथै हातपात गरेको आरोप छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




