काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलस्थित सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट घाइते भएका पुरुषको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उद्धार गरी संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा प्रारम्भिक उपचार गरिएको थियो।
अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको थियो। उपचारकै क्रममा बिहीबार बिहान २ः०७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले टिपर चालक कपिलवस्तुको शिवराज नगरपालिका–५ बस्ने ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिएको छ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




