काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ।
यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




