काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई लक्षित गर्दै अलैँचीका बिरुवा तथा सिँचाइ र स्प्रेयर लगायतका कृषि सामग्री वितरण गरेको छ।
गाउँपालिकाको वडा नं २ फूलबारीका करिब ५० परिवारलाई लक्षित गरी उक्त सामग्री वितरण गरिएको हो। पालिकाको कृषि विकास शाखा प्रमुख सञ्जु दाहाल पौडेलका अनुसार अलैँचीका बिरुवा, सिँचाइ सामग्री तथा स्प्रेयर किसानलाई उपलब्ध गराइएको हो।
उनका अनुसार कार्यक्रमका लागि गाउँपालिकाको १७ लाख रुपैयाँ र किसानको साझेदारी १७ लाख रुपैयाँ गरी कुल ३४ लाख रुपैयाँको लगानी गरिएको हो। रामसाई र भार्लाङ्गे प्रजातिका अलैँचीका बिरुवा इलामबाट फूलबारी बहुउद्देश्यीय सहकारी संस्था मार्फत खरिद गरी वितरण गरिएको जनाइएको छ।
कार्यक्रमको अनुगमन उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ नेतृत्वको अनुगमन समितिले गरेको थियो। अनुगमनपछि गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू, प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशी, वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङ, कार्यपालिका सदस्य शारदाकुमारी बिमली लगायतको उपस्थितिमा किसानलाई सामग्री वितरण गरिएको फूलबारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गुलसन प्रधानले जानकारी दिए।
वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोमूले प्राप्त अनुदानको उचित सदुपयोग गर्दै किसानहरू आर्थिक उपार्जनतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे।




