काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सवारी सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी तीव्र पारिएको छ। सञ्चालनमा आएपछि नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने यातायात आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङभित्रका अधिकांश निर्माण तथा प्राविधिक काम सम्पन्न भइसकेका छन् भने हाल आपतकालीन उद्धार, सुरक्षा परीक्षण तथा सवारी व्यवस्थापनसम्बन्धी अभ्यासहरू सञ्चालन भइरहेका छन्। सुरुङमार्ग बाहिर पहिरो नियन्त्रणको काम भने अझै बाँकी रहेको जनाइएको छ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ। उनका अनुसार टोल सङ्कलन प्रणालीका लागि बैंक छनोट, कार्ड छपाइ तथा डिजिटल भुक्तानी प्रणालीको प्रक्रिया समेत अघि बढाइएको छ।
सुरुङमार्गमा शुल्क सङ्कलनका लागि नगद, क्यूआर कोड तथा सवारीसाधनमा जडान गरिने स्टिकरमार्फत स्वचालित पहिचान प्रणाली प्रयोग गरिनेछ। व्यवस्थापन तथा सञ्चालनको जिम्मा युसिन एआरटी कम्पनीले पाँच वर्षका लागि पाएको छ।
आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा करिब १५० जना जनशक्ति परिचालन गरिनेछ भने अत्यधिक चाप हुने समयमा ठूलो संख्यामा कर्मचारी खटाइनेछ। सुरुङमार्ग चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
निर्देशक नेपालका अनुसार हाल औसत दैनिक करिब आठ हजारभन्दा बढी सवारीसाधन नागढुङ्गा–नौबिसे सडक प्रयोग गर्छन्, जसको करिब ६० प्रतिशत सवारी सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। तर, दुई पाङ्ग्रे सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
सरकारले राजपत्रमार्फत जारी गरेको सूचनाअनुसार सवारी वर्गअनुसार सुरुङमार्ग प्रयोग शुल्क पनि निर्धारण गरिएको छ, जसअनुसार हलुका सवारीदेखि भारी सवारीसम्मका लागि प्रवेश र निकासमा फरक–फरक दर लागू हुनेछन्।




