२०८३ असार ३

रास्वपाको महाधिवेशनअघि सभापति लामिछानेद्वारा मधेस प्रदेश सांसदसँग छलफल

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न प्रथम राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टी सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा महाधिवेशनको तयारी, संसदीय गतिविधि, तथा समसामयिक राजनीतिक अवस्थालगायत विषयमा विस्तृत विचार–विमर्श भएको पार्टी स्रोतले जनाएको छ।

छलफलका क्रममा मधेस प्रदेशसभाका सांसदहरूले प्रदेश सभाको कार्यसम्पादनलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

सभापति लामिछानेले संसद र प्रदेश सभालाई जनउत्तरदायी र प्रभावकारी बनाउन पार्टीभित्र आन्तरिक समन्वय र संघीय संरचनाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। उनले महाधिवेशनलाई संगठन सुदृढीकरण र नीतिगत दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। पार्टीले यसलाई आफ्नो संगठनात्मक संरचना विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ।