काठमाडौं । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको पाइएको छ।
गुठीको नाममा रहेको कुल १४९ रोपनी जग्गामध्ये करिब ३० रोपनी क्षेत्रमा अतिक्रमण गरी स्थायी तथा अस्थायी संरचना निर्माण गर्दै बस्ती विस्तार गरिएको अनुमान गरिएको छ। उक्त क्षेत्रमा ३७ घरका १०६ जनाको बसोबास रहेको बताइएको छ।
देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार सो जग्गामा घरायसी कागजका आधारमा किनबेच भइरहेको पाइएको छ। गुठीको जग्गा कानुनी रूपमा व्यक्तिको नाममा नामसारी वा लालपुर्जा दिन नमिल्ने प्रावधान भए पनि अनौपचारिक कागजातका आधारमा कारोबार भइरहेको उनले बताए।
स्थानीय तहले गुठीको जग्गा खरिद–बिक्री नगर्न तथा अतिक्रमित क्षेत्र खाली गर्न स्थानीयवासीलाई आग्रह गरेको छ। साथै, वास्तविक सुकुम्बासीहरूको व्यवस्थापनका लागि संघीय सरकारले वैकल्पिक जग्गा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिइएको छ।
यसैबीच, देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको समन्वयमा देवघाटको वेणी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १६ वटा अस्थायी टहरा हटाइसकिएको छ।
त्रिशूली र कालीगण्डकीको संगमस्थल ‘वेणी’ क्षेत्रको स्नानघाट संरक्षण र सौन्दर्यकरणका लागि जारी सातदिने सूचनापछि ती अनधिकृत संरचना हटाइएको हो। स्नानघाट संरक्षण पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघसंस्था, साधु–सन्त, व्यवसायी तथा अन्य समूहले अस्थायी टहरा निर्माण गरी उपयोग गर्दै आएका थिए।



