काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न पहिलो महाधिवेशनका लागि विभिन्न पदका उम्मेदवारहरूको शुल्क निर्धारण गरेको छ। पार्टीले केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क तोकेको छ।
त्यसैगरी सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारका लागि समान रूपमा ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
पार्टीको विधानअनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिला सहित चार सहमहामन्त्री रहने व्यवस्था छ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम रहेको छ।




