काठमाडौँ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चुनावी प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै कडा प्रश्न उठाएकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा बमले जेनजी आन्दोलनको भावना र आन्दोलनकारीहरूसँग गरिएको वाचा अझै कार्यान्वयन नभएको भन्दै सरकार र राजनीतिक नेतृत्वको आलोचना गरेकी हुन्।
उनले जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दा र सरकार गठनअघि गरिएका प्रतिबद्धताहरूको स्मरण गराउँदै जेनजी परिषद् गठन र शहीदहरूको स्मारक निर्माणको अवस्थाबारे सार्वजनिक जवाफ मागेकी छन्।
“जेनजी परिषद् गठन कहाँ पुग्यो ? जेनजी शहीदहरूको स्मारक निर्माण किन अगाडि बढेन ?” भन्दै उनले नेतृत्वलाई प्रत्यक्ष प्रश्न गरेकी छन्।
रक्षा बमले वर्तमान राजनीतिक परिवर्तन र सरकार निर्माणमा जेनजी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्दोलनका एजेन्डा नै ओझेलमा परेको गुनासो गरेकी छन्। उनका अनुसार युवा पुस्ताको आशा र अपेक्षालाई सम्बोधन गर्नुको सट्टा नेतृत्व मौन बसेको देखिन्छ।
सामाजिक सञ्जालमा सार्वजनिक उनको अभिव्यक्तिलाई जेनजी आन्दोलनसँग जोडिएका अपूरा प्रतिबद्धतामाथिको असन्तुष्टिको रूपमा हेरिएको छ। उनले निर्वाचनअघि गरिएका वाचाहरू तत्काल कार्यान्वयन गर्न नेतृत्वलाई दबाब दिँदै अब पनि प्रतिबद्धता पूरा नहुने हो भने जनताले फेरि प्रश्न गर्ने चेतावनी दिएकी छन्।
जेनजी आन्दोलनका मुद्दा, शहीदहरूको सम्मान र युवा सहभागिताका विषयमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोपबीच रक्षा बमको यो अभिव्यक्ति चर्चाको विषय बनेको छ।




