२०८३ असार ६

रास्वपाको प्रथम महाधिवेशनको तयारी तीव्र, भरतपुरमा अत्याधुनिक डोम निर्माण हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा उद्घाटनस्थल निर्माण कार्य तीव्र पारिएको छ। असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोह भरतपुर–१० स्थित गेष्टहाउस चौरमा हुने तय भएको छ।

उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक आल्मुनियम डोम निर्माण भइरहेको छ। विशेष वाटरप्रुफ टेन्साइल फेब्रिक प्रयोग गरिएको उक्त संरचनाले मौसमको प्रतिकूल अवस्थाबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ।

निर्माणको जिम्मा लिएको मिडिया स्पेस सोलुसनका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर विशाल सभा हल तयार गरिँदैछ। हलभित्र एलइडी स्क्रिन, कुलर, पङ्खा र आवश्यक बैठक व्यवस्थासहित सहभागीले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने संरचना बनाइँदैछ।

रास्वपाले उद्घाटन समारोहमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेतादेखि छिमेकी मुलुकका प्रतिनिधिसम्मलाई आमन्त्रण गरेको जनाएको छ। महाधिवेशनको बन्दसत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ, जहाँ करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।