२०८३ असार ६

वैदेशिक रोजगारी ठगी प्रकरणमा ७ जना पक्राउ, करोडौँ रकम संलग्न भएको आशंका

काठमाडौं ।  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ परेकाहरूले विभिन्न देशमा रोजगारी दिलाइदिने बहानामा पीडितहरूबाट लाखौँ रुपैयाँ असुली गरेको उजुरी परेको थियो।

प्रहरी विवरणअनुसार उनीहरूले अष्ट्रेलिया, जापान, क्यानडा, रोमानिया र ग्रीस पठाइदिने भन्दै प्रति पीडित १ लाखदेखि १३ लाख रुपैयाँसम्म लिएको देखिएको छ। ग्रीस पठाइदिने भन्दै मात्र ५ जनाबाट करिब ३४ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोप छ।

उजुरीका आधारमा विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।