काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्याक्टरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार दिउँसो गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ट्याक्टरले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गढीमाई–४ सुन्दरपुरका ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनलाई सुरुमा गरुडास्थित अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो। तर, वीरगन्ज लैजाने क्रममा करिब १:४५ बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनापछि इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थल पुगेको थियो ।
ट्याक्टर चालक गरुडा नगरपालिका–५ का ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।



