काठमाडौं । झापाको कमल गाउँपालिकामा विषालु कोब्रा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ की ४० वर्षीया सरस्वती मगर रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ घरमै रहेको अवस्थामा मगरलाई सर्पले डसेको थियो। उनी भान्सा कोठामा खाना पकाइरहेका बेला करिब ७:५० बजेतिर कोब्रा सर्पले आक्रमण गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
सर्पको डसाइपछि परिवारले तत्काल उद्धार गरी उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमक पुर्याएका थिए। चिकित्सकको निगरानीमा उपचार भइरहे पनि उनको अवस्था गम्भीर बनेपछि बचाउन नसकिएको प्रहरीले जनाएको छ। उपचारकै क्रममा राति करिब १०:४० बजे उनको मृत्यु भएको हो।
घटनाबारे थप विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान अघि बढाएको छ। प्रहरीले घर वरपरको वातावरणमा सर्पको जोखिमबाट बच्न सतर्कता अपनाउन समेत आग्रह गरेको छ।




