२०८३ भाद्र ८

बर्डफ्लु नियन्त्रणमा आउँदै, संक्रमण देखिन छाड्यो

काठमाडौं । देशभर देखिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा आउन थालेको छ । पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ संक्रमण पुष्टि भएको छैन । पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो ।

विभागका महानिर्देशक डा. उमेश दाहालले हाल अवस्था नियन्त्रणमा रहेको र प्रभावित क्षेत्र आसपासका नमुना परीक्षण जारी रहेको जानकारी दिए ।

चैत ४ गते पहिलोपटक मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि ११ जिल्लामा संक्रमण फैलिएको थियो । कुखुरा, हाँस, टर्की, कालिजलगायत पन्छी प्रभावित भएका थिए ।

विभागका अनुसार काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो । देशभर आठ लाख ३५ हजारभन्दा बढी पन्छी नष्ट गरिएको छ भने अण्डा र दाना समेत नष्ट गरिएको छ ।

प्रभावित किसानलाई सरकारले राहत उपलब्ध गराएको छ । हालसम्म १०४ किसान तथा फर्मको खातामा ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी राहत रकम निकासा गरिएको विभागले जनाएको छ ।

परीक्षण र निगरानीलाई निरन्तरता दिइरहेको विभागले अब संक्रमण फैलिने सम्भावना कम रहेको जनाएको छ । संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेपछि किसानले राहत महसुस गर्न थालेका छन् ।