२०८३ भाद्र ३१

चार वर्षभित्र विश्वविद्यालयको राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्ने दाबी गरेका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताए ।

उनले विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य गर्दै नेतृत्व तथा कार्यटोली योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा गठन गरिने बताए ।

‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ । अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीका आधारमा निर्माण हुनेछ,’ मन्त्री पोखरेलले भने ।

विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका उनले विश्वविद्यालयमा हुने नियुक्ति, सरुवा, बढुवा तथा अन्य प्रशासनिक निर्णय राजनीतिक दबाबका आधारमा नहुने स्पष्ट पारे ।

‘विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन । कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन्,’ उनले भने ।

Read More

अमेरिकी तल्लो सदनबाट इरान केन्द्रित ९५ अर्ब डलरको बजेट ढाँचा पारित

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा बुधबार पारित गरेको छ । झिनो मतान्तरले स्वीकृत भएको उक्त प्रस्ताव अब सिनेटमा जानेछ, जहाँ यसको अनुमोदन हुने–नहुनेबारे अझै अनिश्चितता रहेको छ ।

प्रतिनिधिसभाले २१६–२१४ मतले पारित गरेको बजेट प्याकेजअन्तर्गत ७३ अर्ब डलर सशस्त्र सेना र गुप्तचर निकायका लागि छुट्याइएको छ । यो रकम मुख्यतः इरानविरुद्ध सञ्चालन भइरहेका सैन्य तथा सुरक्षा अभियानमा खर्च गरिने जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट प्रभावित किसानलाई राहत दिन १२ अर्ब डलर विनियोजन गरिएको छ । थप १० अर्ब डलर राष्ट्रव्यापी निर्वाचनसम्बन्धी कार्यक्रमका लागि छुट्याइएको छ । यो व्यवस्था ट्रम्पले अघि सारेको नयाँ मतदान प्रतिबन्धसम्बन्धी योजनासँग सम्बन्धित भए पनि उनको व्यापक ‘सेभ अमेरिका एक्ट’ ले आवश्यक राजनीतिक समर्थन भने प्राप्त गर्न सकेको छैन ।

नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि रिपब्लिकनहरूको प्रमुख विधायी प्राथमिकताका रूपमा हेरिएको यो प्रस्ताव हाल प्रारम्भिक बजेट ढाँचा मात्र हो । सिनेटबाट स्वीकृति पाएपछि प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले आगामी महिनाहरूमा यसको विस्तृत कानुनी मस्यौदा तयार गर्नेछन् ।

त्यसपछि सिनेटमा सामान्यतया आवश्यक पर्ने ६० मतको समर्थनबिनै विशेष बजेट प्रक्रियामार्फत साधारण बहुमतका आधारमा विधेयक पारित गराउने रणनीति अपनाइने अपेक्षा गरिएको छ ।

सदनका सभामुख माइक जोनसनले उक्त निर्णयले अमेरिकी निर्वाचन प्रणालीलाई सुरक्षित बनाउने तथा राष्ट्रिय सुरक्षालाई थप सुदृढ गर्ने रिपब्लिकनहरूको दुई प्रमुख उद्देश्य पूरा गर्न मार्ग प्रशस्त गरेको बताए ।

यता, डेमोक्रेटिक सांसद रोजा डेलोरोले इरानविरुद्धको युद्धलाई निरन्तरता दिन आर्थिक स्रोत उपलब्ध गराउने भन्दै बजेटको आलोचना गरिन् । उनले अमेरिकी नागरिकले मध्यपूर्वमा थप खुला, महँगो र दीर्घकालीन युद्धभन्दा खाद्यान्न, आवास, स्वास्थ्य सेवा, बाल हेरचाह र इन्धनजस्ता अत्यावश्यक वस्तु तथा सेवाको मूल्य घटेको देख्न चाहेको बताइन् ।

अमेरिकामा बढ्दो जीवनयापन खर्च र निरन्तर मुद्रास्फीति आगामी मध्यावधि निर्वाचनका प्रमुख राजनीतिक मुद्दामध्ये एक बनेका छन् । त्यसैले यो बजेट प्रस्तावमाथिको बहस थप संवेदनशील बन्ने अपेक्षा गरिएको छ ।

Read More

बाँझो निजी जग्गा उपयोगमा ल्याउन देशभर भूमि बैंक सञ्चालन गरिँदै

काठमाडौँ । उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले सरकारले देशभरका स्थानीय तहमार्फत ‘भूमि बैंक’ सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो ।

मन्त्रालयका अनुसार भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) मा भएको व्यवस्थाका आधारमा स्थानीय तहबाट भूमि बैंक सञ्चालन गर्न लागिएको हो ।

भूमि बैंकलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत गरिसकेको छ । कार्यविधिअनुसार देशका प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गरिनेछ ।

मन्त्रालयले भूमि बैंक सञ्चालनसम्बन्धी आवश्यक परिपत्र तथा निर्देशन देशभरका स्थानीय तहमा पठाइसकेको जनाएको छ । कार्यविधि लागू भएपछि स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र रहेका बाँझो तथा प्रयोगविहीन जग्गाको पहिचान गरी तिनलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउनेछन् ।

मन्त्रालयले सम्बन्धित जग्गाधनी तथा सरोकारवालालाई आफ्नै स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकसम्बन्धी कानुनी व्यवस्थाको लाभ लिन तथा बाँझो जग्गालाई उत्पादनसँग जोड्न आग्रह गरेको छ ।

Read More

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

काठमाडौं । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गरेकी हुन् ।

पुर्जा वितरण गर्दै सांसद रानाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनले भनिन्, “वर्षौंदेखि आफ्नो थातथलोमा बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्नु खुसीको विषय हो ।”

उनले लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले जारी गरेको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

वडा नं ११ मा यसअघि नै १४४ जना अव्यवस्थित बसोबासीलाई प्रमाण पुर्जा वितरण गरिसकिएको छ । नयाँ सूचीकरणअनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित तथा छ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Read More

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला बालुवाटारबाट पक्राउ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई कालो झण्डा देखाउने प्रयास गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ।

घरेलु हिंसासम्बन्धी मुद्दाको छिटो सुनुवाइको माग गर्दै प्रदर्शन गर्दै आएका निहारिका राजपुत र विनु यादवलाई शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

प्रधानमन्त्रीसमक्ष सांकेतिक विरोध जनाउने उद्देश्यले कालो झण्डा देखाउन पुगेका उनीहरूलाई झण्डा प्रदर्शन गर्नुअघि नै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट १३६ ग्राम खैरो हेरोइन र नगद रु एक लाख बरामद गरेको जनाएको छ। यस्तै, सागर जेठाराको साथबाट चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने विभिन्न औषधि पनि फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा ट्रामाडोल दुई हजार ४९० ट्याब्लेट, टापेन्टाडोल सात हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम एक हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट रहेका छन्।

यसैगरी, मोरङको रङ्गेली नगरपालिका–७ बाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले चारै जनालाई बुधबार पक्राउ गरेको जनाएको छ।

Read More

नेपालगञ्जमा चार लाख भारतीय रुपैयाँसहित होटल कर्मचारी पक्राउ

काठमाडौँ प्रहरीले अवैध कारोबारमा संलग्न भएको आशङ्कामा नेपालगञ्ज बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजमा कार्यरत वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार राउतबाट भारतीय ५०० दरका ८०० वटा नोट बरामद भएका छन्। उक्त रकम लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जिसीले बताए। नेपालमा भारतीय ५०० दरका नोटको कारोबार प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ।

बसपार्क क्षेत्रका होटलबाट अवैध गतिविधि हुने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको र पक्राउ परेका राउतमाथि नेपाल राष्ट्र बैंक ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

यता, होटल सञ्चालक धर्मराज बस्नेतले भने जाजरकोटबाट आएका छ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई आवश्यक पर्ने भारतीय रुपैयाँ व्यवस्थापनका लागि रकम सङ्कलन गरी सटही गर्न राउतलाई पठाइएको दाबी गरेका छन्।

Read More

उद्योग मन्त्रालयअन्तर्गतका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू मातहतका विभिन्न निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।

मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना जारी गर्दै मन्त्रालयअन्तर्गत रहेका प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी तथा प्राधिकरणमा कार्यरत सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण पेश गर्न अनुरोध गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा (१) अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

कानुनअनुसार सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफू तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारीसमक्ष बुझाउनुपर्ने हुन्छ।

सोही कानुनी व्यवस्थालाई स्मरण गराउँदै मन्त्रालयले मातहतका सबै निकायका पदाधिकारी तथा कर्मचारीलाई तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको हो।

Read More

सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो, चाँदी पनि बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो।

महासङ्घले तोकेको मूल्यअनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा निरन्तर उतारचढाव देखिएको महासङ्घले जनाएको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १२० दशमलव ८८ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५९ दशमलव ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

भारतमा पेपर लिक प्रकरणको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गरिने

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रतियोगी परीक्षामा हुने प्रश्नपत्र चुहावट (पेपर लिक) सम्बन्धी मुद्दाको शीघ्र समाधानका लागि फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री मोदीले देशका युवाको भविष्य र हित सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै पेपर लिकमा संलग्न दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिएका छन्।

विद्यार्थीहरूको अधिकार र हित संरक्षणका लागि सरकारले विभिन्न रणनीतिक कदम चालिरहेको उल्लेख गर्दै मोदीले फास्ट ट्र्याक अदालत गठन गर्ने निर्णय त्यसैको हिस्सा भएको बताए। उनले युवाको भविष्यसँग खेलबाड गर्ने कसैलाई पनि छुट नदिइने बताएका छन्।

पेपर लिक प्रकरणलाई लिएर भारतमा विद्यार्थी र विपक्षी दलहरूले देशभर विरोध प्रदर्शन गर्दै आएका छन्। बढ्दो दबाबपछि सरकारले यसअघि पनि प्रश्नपत्र चुहावट नियन्त्रण गर्न र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएको थियो।

Read More