२०८३ आश्विन १

काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट १३६ ग्राम खैरो हेरोइन र नगद रु एक लाख बरामद गरेको जनाएको छ। यस्तै, सागर जेठाराको साथबाट चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने विभिन्न औषधि पनि फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा ट्रामाडोल दुई हजार ४९० ट्याब्लेट, टापेन्टाडोल सात हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम एक हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट रहेका छन्।

यसैगरी, मोरङको रङ्गेली नगरपालिका–७ बाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले चारै जनालाई बुधबार पक्राउ गरेको जनाएको छ।