काठमाडौँ । प्रहरीले अवैध कारोबारमा संलग्न भएको आशङ्कामा नेपालगञ्ज बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजमा कार्यरत वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीका अनुसार राउतबाट भारतीय ५०० दरका ८०० वटा नोट बरामद भएका छन्। उक्त रकम लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जिसीले बताए। नेपालमा भारतीय ५०० दरका नोटको कारोबार प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ।
बसपार्क क्षेत्रका होटलबाट अवैध गतिविधि हुने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको र पक्राउ परेका राउतमाथि नेपाल राष्ट्र बैंक ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
यता, होटल सञ्चालक धर्मराज बस्नेतले भने जाजरकोटबाट आएका छ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई आवश्यक पर्ने भारतीय रुपैयाँ व्यवस्थापनका लागि रकम सङ्कलन गरी सटही गर्न राउतलाई पठाइएको दाबी गरेका छन्।




