काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका प्रमुख निर्यातमुखी उद्योग व्यवसायका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा प्लाइउड, कार्पेट, पश्मिना, डग च्यु लगायतका निर्यातजन्य उद्योगसँग आबद्ध प्रतिनिधिहरू सहभागी हुनेछन्।
छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले निर्यात क्षेत्रका चुनौती, नीतिगत सुधार तथा उद्योग व्यवसाय विस्तारका सम्भावित उपायबारे निजी क्षेत्रका प्रतिनिधिसँग सुझाव लिने जनाइएको छ।
पछिल्लो समय प्रधानमन्त्री शाहले अर्थतन्त्र सुधार र निजी क्षेत्र प्रवर्द्धनका विषयमा उद्योगी व्यवसायी तथा सरोकारवाला निकायसँग नियमित छलफल गर्दै आएका छन्।




