काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डपछि उत्पन्न विवाद समाधानका लागि सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको लिखित सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सहमतिअनुसार घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। दुवै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
लामो छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति जुटेको हो। सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ तथा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि अस्पतालमा रहेका दुवै मृतकको शव परिवारले बुझ्ने भएका छन्। उनीहरूको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जानकारी दिइएको छ।
सहमतिका मुख्य बुँदा
- मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल सुरु गरिनेछ। साथै, प्रत्येक परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
- साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
- देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान तत्काल सुरु गरिनेछ।
- प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ।
- घटनाको अध्ययन गर्न गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
- मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी देवानगञ्ज गाउँपालिकाभित्र उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ।





