२०८३ श्रावण १५

वर्षाका कारण देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द भएको र केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। ललितपुरको बागमती गाउँपालिका–३ क्षेत्रमा सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक बगाएपछि यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पनि सवारी सञ्चालन रोकिएको छ।

नेपाल प्रहरीका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलामा आएको बाढीले सडक कटान गरेपछि उक्त सडक बन्द भएको छ। त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ मा शुक्रबार बिहान पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।