२०८३ भाद्र ३१

ब्रड पिक हिमपहिरोमा चार शव फेला, नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेका छन्।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदका अनुसार खोजी तथा उद्धार अभियानका क्रममा चार शव भेटिएका हुन्। फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको छ। बाँकी दुई शवको पहिचान हुन बाँकी रहेको छ।

शव भेटिएको पुष्टि भए पनि हिमपहिरोमा परी कति आरोहीको मृत्यु भएको हो भन्नेबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ। खोजी तथा उद्धार कार्य अझै जारी छ।

इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसिएसन्सबाट प्रमाणित गाइड रहेका पुरबहादुर गुरुङ विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्यको नजिक पुगेका आरोही हुन्।

गत वसन्त ऋतुमा मात्रै उनले नेपालका तीन वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। सो सिजनको अन्त्यसम्ममा उनको नाममा सगरमाथाको १० पटक आरोहणसहित १२ वटा आठ हजारी हिमाल चढेको कीर्तिमान रहेको थियो।

गुरुङ सय वर्ष पुरानो जुत्ता फेला पार्ने टोलीका सदस्यसमेत थिए। उक्त जुत्तामा ‘ए.सी. इरभिन’ लेखिएको थियो, जुन सन् १९२४ मा जर्ज मेलोरीसँगै सगरमाथामा बेपत्ता भएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इरभिनको भएको विश्वास गरिएको छ।

Read More

मधेसका हिंसात्मक घटनाबारे प्रधानमन्त्री शाहसँग मधेसी नेताहरूको छलफल, सङ्घीयता सुदृढ गर्न जोड

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशमा पछिल्लो समय देखिएका हिंसात्मक घटनाक्रम, सामाजिक सद्भाव र सङ्घीयताको विषयमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मधेसी नेताहरूले सुनसरीमा सामान्य विवादबाट सुरु भएको घटना मधेसका अन्य जिल्लासम्म फैलिनुमा सरकारी संयन्त्रको ढिलासुस्ती र निष्क्रियता जिम्मेवार रहेको भन्दै आलोचना गरेका छन्।

छलफलमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायत नेताहरू सहभागी थिए। नेताहरूले रास्वपाको चितवन महाधिवेशनबाट सङ्घीयताविरोधी सन्देश गएको विषय पनि उठाएका थिए।

मधेसी नेताहरूले चुनावका बेला सङ्घीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त भए पनि व्यवहारमा त्यसअनुसार काम हुन नसक्दा जनतामा असन्तुष्टि बढेको धारणा राखेका छन्।

नेताहरूको चासो र आलोचनापछि प्रधानमन्त्री शाहले आफू र आफ्नो पार्टी सङ्घीयताको विरोधी नरहेको स्पष्ट पारेका छन्। उनले आफू काठमाडौंको मेयर रहँदा प्राप्त अधिकारको प्रयोग गरेको उदाहरण दिँदै प्रदेश सरकारले पनि संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गरेर सङ्घीयता बलियो बनाउनुपर्नेमा जोड दिए।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका समस्या, सामाजिक सद्भाव र वर्तमान अवस्थाबारे प्रधानमन्त्रीले मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको बताए।

नेताहरूले सामान्य विवादले साम्प्रदायिक रूप लिनु देशका लागि गम्भीर विषय भएको भन्दै यस्ता घटना दोहोरिन नदिन सरकारलाई संवेदनशील र प्रभावकारी भूमिका खेल्न आग्रह गरेका छन्।

Read More

मध्यपूर्व द्वन्द्वमा १६ भारतीय नागरिकको मृत्यु, ७५ जना घाइते भएको सरकारको जानकारी

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण १० जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु भएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ।

राज्यसभामा नागरिकहरूको सुरक्षा अवस्था, हताहती, क्षतिपूर्ति र कूटनीतिक पहलसम्बन्धी प्रश्नको जवाफ दिँदै विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा आठ, संयुक्त अरब इमिरेट्स (युएई) मा चार, कुवेतमा दुई तथा साउदी अरब र इराकमा एक–एक भारतीय नागरिकको मृत्यु भएको बताए।

उनका अनुसार द्वन्द्व र दुर्घटनाका विभिन्न घटनामा ७५ जना भारतीय नागरिक घाइते भएका छन्। घाइते हुनेमा युएईका ३२, ओमानका २४, कुवेतका १३, कतारका चार, साउदी अरब र इजरायलका एक–एक जना रहेका छन्।

मन्त्री सिंहले कतारको रास लाफान ग्यास सुविधामा भएको दुर्घटनामा १२ जना भारतीय नागरिकको मृत्यु भएको र तेहरानस्थित भारतीय दूतावासले इरानबाट आर्मेनिया र अजरबैजानतर्फ दुई हजार ५५७ जना भारतीय नागरिकको सीमापार आवागमन सहज बनाएको जानकारी दिए।

सरकारले प्रभावित परिवारलाई निरन्तर सहयोग उपलब्ध गराइरहेको जनाएको छ। घाइते भारतीय नागरिकहरूले स्थानीय अस्पतालहरूमा उपचार पाइरहेको र भारतीय दूतावास तथा वाणिज्य दूतावासहरूले स्थानीय अधिकारी र अस्पतालसँग समन्वय गरी परिवारसँग सम्पर्क, यात्रा व्यवस्थापन र सुरक्षित स्वदेश फिर्ताका लागि सहयोग गरिरहेको बताइएको छ।

क्षतिपूर्तिको विषयमा सरकारले युद्ध क्षेत्रका घटनामा ज्यान गुमाएका नाविकका परिवारलाई डीजीएमए कल्याण योजना (नाविक कल्याण कोष सोसाइटी–एसडब्लुएफएस) अन्तर्गत १० लाख रुपैयाँ प्रदान गरिएको जनाएको छ।

सरकारका अनुसार आवश्यक प्रमाणिकरणपछि सहयोग रकम मृतकका परिवारलाई छिटो उपलब्ध गराइनेछ। साथै सामूहिक मोलतोल सम्झौताअन्तर्गत थप क्षतिपूर्तिको व्यवस्था रहेको जनाइएको छ, जसमा अधिकारीका लागि भारतीय समुद्री संघमार्फत १२ लाख रुपैयाँ र चालक दलका लागि भारतीय समुद्री नाविकहरूको राष्ट्रिय संघमार्फत १० लाख रुपैयाँ समावेश छ।

Read More

गृहमन्त्रीको भ्रमणअघि सिरहामा चर्कियो विरोध, ‘न्याय नपाएसम्म गाउँ प्रवेश निषेध’ चेतावनी

काठमाडौं सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका आफन्त र स्थानीयवासीले गृहमन्त्री सुदन गुरुङविरुद्ध प्रदर्शन गरेका छन्।

गोलबजार झडपमा ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आउने तयारी भएको खबरपछि आक्रोशित स्थानीय बनिनिया चोकमा भेला भएर विरोधमा उत्रिएका हुन्।

हातमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका छन्। उनीहरूले मृतक बालकलाई न्याय नपाएसम्म र घटनाका दोषीमाथि कारबाही नभएसम्म गृहमन्त्रीलाई गाउँ प्रवेश गर्न नदिने चेतावनी दिएका छन्।

निर्दोष १५ वर्षीय बालकमाथि गोली प्रहार भएको भन्दै स्थानीयवासी र आफन्तहरू आक्रोशित बनेका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Read More

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने आरोपमा तीन जना पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङ घर भई काठमाडौंको टोखा नगरपालिका–१० बस्ने ३२ वर्षीय पवन कुमार केसी (विक्रम), रौतहट घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २१ वर्षीय सुधिर प्रसाद जयसवाल तथा काभ्रे घर भई काठमाडौं महानगरपालिका–२५ बस्ने ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन्।

प्रहरीका अनुसार पवनले दुई जना पीडितलाई सिंगापुर पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी, सुधिरले साइप्रस पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको आरोप छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पवनलाई काठमाडौं महानगरपालिका–१०, सुधिरलाई टोखा नगरपालिका–९ र लक्ष्मीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ।

Read More

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा बीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दासविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दासले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर पदमा नियुक्ति लिँदा भारतबाट प्राप्त गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको आयोगको दाबी छ।

अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी पद, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गत मुद्दा दायर गरिएको हो।

आयोगले दासलाई सोही ऐनबमोजिम कैद तथा जरिवानाको सजायको माग गर्दै विशेष अदालतमा अभियोजन गरेको जनाएको छ।

Read More

कालिका नगरपालिकाबाट भूमि व्यवस्थापन सेवा सुरु, चितवनमै पहिलो पालिका

काठमाडौँ । चितवनको कालिका नगरपालिकाले भूमि व्यवस्थापनसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरेको छ। जिल्लाका सात स्थानीय तहमध्ये आफ्नै कार्यालयबाट यस्तो सेवा सञ्चालन गर्ने कालिका पहिलो पालिका बनेको हो।

नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा आफ्नै कार्यालयबाट प्रदान गर्न थालेको हो। नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई दिएको भए पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावका कारण हालसम्म यी सेवा भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत सञ्चालन हुँदै आएका थिए। आवश्यक तयारी पूरा भएपछि नगरपालिकाले सेवा सञ्चालनमा ल्याएको उनले बताए।

सेवा सुरु भएसँगै कालिका नगरपालिकाका ११ वटै वडाका नागरिकले भूमि प्रशासनसम्बन्धी अधिकांश सेवा आफ्नै पालिकाबाट प्राप्त गर्ने भएका छन्। यसअघि उनीहरू भरतपुरस्थित मालपोत र नापी कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो। स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाह पनि थप छिटो, सहज र प्रभावकारी हुने नगरपालिकाको विश्वास छ।

हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरबाटै प्रदान गरिनेछ। अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा भने नगरपालिकाबाटै सञ्चालन हुनेछ।

भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीका अनुसार जग्गाधनी दर्ता प्रमाणपुर्जा, लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा दस्तखत पारित, छोडपत्र, बकसपत्र तथा शेषपछिको लिखतसम्बन्धी सेवा नगरपालिकाबाटै उपलब्ध हुनेछ।

हाल चितवनमा भरतपुर, चनौली, माडी र खैरहनीस्थित मालपोत तथा नापी कार्यालयले भूमि प्रशासनसम्बन्धी सेवा प्रदान गर्दै आएका छन्।

Read More

स्मार्ट सेल प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट सेलसँग सम्बन्धित अनियमितता प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराका अनुसार स्मार्ट सेल प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा भण्डारीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामार्फत राज्यलाई हानि–नोक्सानी पुर्‍याइएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा कार्यरत थिए। पछि टेरामक्स प्रकरणमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।

प्रहरीले स्मार्ट सेल प्रकरणसँग सम्बन्धित अन्य पक्षमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।

Read More

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ निक्षेप खिच्दै

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (अधिक तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले त्यसको अल्पकालीन व्यवस्थापनका लागि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६१ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो।

वित्तीय प्रणालीमा बढेको तरलतालाई नियन्त्रणमा राख्दै ब्याजदर स्थिर बनाउने उद्देश्यले राष्ट्र बैंकले यो प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८२ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस अवधिमा बैंकहरूको औसत कर्जा–निक्षेप (सीडी) रेसियो ७१.०८ प्रतिशतमा झरेको छ।

कानुनी व्यवस्थाअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर कर्जा विस्तार गर्न पाउने भए पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकिङ प्रणालीमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ।

लगानीका अवसर सीमित र कर्जाको माग सुस्त रहँदा बैंकहरूमा अधिक तरलताको दबाब बढिरहेको छ। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा निक्षेप संकलन बोलकबोलमार्फत बजारबाट रकम खिच्दै आएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोल प्रतिस्पर्धात्मक ब्याजदरका आधारमा हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले बहुब्याजदरमा पनि आवेदन दिन सक्नेछन्। आवेदनमा जम्मा गर्न चाहेको रकम र दशमलव पछिका चार अंकसम्म ब्याजदर उल्लेख गर्नुपर्नेछ। प्राप्त प्रस्तावहरूमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै आवश्यकताअनुसार रकम बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।

Read More

महाराष्ट्रमा चार तले भवन भत्किँदा सात जनाको मृत्यु, भग्नावशेषमा खोजी जारी

काठमाडौं : भारतको महाराष्ट्रस्थित भिवण्डीमा चार तले भवन भत्किँदा सात जनाको मृत्यु भएको छ। भारी वर्षापछि आएको बाढीका कारण भवन कमजोर बनेर भत्किएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि भग्नावशेषमा दुई जना अझै फसेको आशंकामा उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

स्थानीय विधायक महेश चौगुलेका अनुसार उक्त भवनलाई यसअघि नै जोखिमयुक्त संरचनाका रूपमा घोषणा गरिएको थियो। भवनमा बसोबास गर्ने मानिसहरूलाई अन्यत्र सारिएको भए पनि केही व्यक्ति त्यहाँ मर्मतसम्बन्धी काम गरिरहेका बेला दुर्घटना भएको बताइएको छ।

घटनामा परेका केही मजदुर र भग्नावशेषमा फसेका व्यक्ति एउटै परिवारका सदस्य हुन सक्ने आशंका गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै थप विवरण संकलन गरिरहेका छन्।

भवन भत्किनुको कारण भारी वर्षा र पानीको प्रभाव हुन सक्ने बताइए पनि घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

Read More