२०८३ भाद्र ३१

कुवेतमा ड्रोन आक्रमण : नेपाली चालकको मृत्यु, शव नेपाल ल्याउने प्रक्रिया सुरु

काठमाडौं : कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको उक्त घटनामा ज्यान गएको हो। तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए।

दूतावासले कुवेतको परराष्ट्र मन्त्रालयमार्फत घटनाबारे आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले मृतकको परिवारप्रति समवेदना प्रकट गरेको छ।

तामाङको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ। यसका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिने बताइएको छ।

यसैबीच, कुवेतमा रहेका नेपाली नागरिकलाई दूतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन तथा मापदण्डको पालना गर्दै सुरक्षित स्थानमा रहन सबै नेपालीलाई अनुरोध गरिएको छ।

Read More

धनुषाको मन्दिर परिसरमा मृत भेटिएका व्यक्ति पुजारी नभएको प्रहरीको स्पष्टोक्ति

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका बन्ठु राउत कडेरी पुजारी नभएको प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा कडेरीलाई पुजारी भनेर उल्लेख गरिएको विवरण गलत भएको स्पष्ट पारेका छन्।

संवेदनशील घटनाका विषयमा अपुष्ट सूचना फैलिँदा भ्रम सिर्जना हुन सक्ने भन्दै उनले तथ्य पुष्टि नगरी सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि विज्ञप्ति जारी गर्दै मृतक कडेरी मन्दिरका पुजारी नभई बाहिर काम गर्ने र कहिलेकाहीँ मन्दिर परिसरमा बस्ने व्यक्ति रहेको जनाएको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मन्दिर परिसरमा भेटिएको शव कडेरीकै भएको पुष्टि भएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको र त्यसका लागि कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको उनले जानकारी दिए।

प्रहरीले घटनालाई धार्मिक विषयसँग जोडेर नहेर्न आग्रह गरेको छ। प्रारम्भिक विवरणअनुसार कडेरी नियमित रूपमा मन्दिरमा पूजा गर्ने व्यक्ति नभई बाहिर काम गर्ने क्रममा कहिलेकाहीँ त्यहाँ बस्ने गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न जोसुकै भए पनि अनुसन्धानपछि कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।

Read More

झापामा सिँचाइ नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको सिँचाइ नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाई खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारेका विषम लिम्बूको मृत्यु भएको हो। मृतक १० वर्षीय बालक हुन्।

घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Read More

तराईका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो, उच्च अधिकारीसहित प्रहरी टोली परिचालन

काठमाडौं । तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले आफ्नो उपस्थिति थप बलियो बनाएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित जोखिम नियन्त्रण गर्न उच्च तहका अधिकारीहरूको नेतृत्वमा थप सुरक्षा टोली प्रभावित क्षेत्रमा परिचालन गरेका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले कर्फ्यु लागू भएका क्षेत्र तथा आसपासका संवेदनशील जिल्लामा सुरक्षा व्यवस्थापनका लागि वरिष्ठ प्रहरी अधिकारीहरूलाई प्रत्यक्ष रूपमा खटाइएको जानकारी दिएका छन्।

उनका अनुसार अवस्था थप जटिल बन्न नदिन जोखिमयुक्त क्षेत्रमा वरिष्ठ अधिकृतहरूले नै सुरक्षा समन्वय, अनुगमन र कमान्ड सम्हाल्नेछन्। कर्फ्यु प्रभावित क्षेत्रसँगै छिमेकी संवेदनशील स्थानहरूमा समेत सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले पनि तराईका विभिन्न जिल्लामा उच्च अधिकृतको नेतृत्वमा टोली परिचालन गरेको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रभावित क्षेत्रहरूमा थप जनशक्ति पठाइएको र छिमेकी जिल्लाबाट रिजर्भ फोर्ससमेत परिचालन गरिएको बताइएको छ।

सुनसरी, सिरहा, धनुषा, पर्सा र सप्तरीलगायतका जिल्लामा सम्भावित अप्रिय घटना रोक्न सुरक्षा गस्ती, निगरानी र जनशक्ति परिचालनलाई तीव्र बनाइएको छ। सुरक्षा निकायहरूले सामाजिक सद्भावमा असर पार्ने गतिविधि नियन्त्रण गर्ने तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सतर्कता बढाएका छन्।

Read More

धार्मिक सद्भाव कायम गर्न रास्वपा सभापति लामिछानेले थाले समुदायका अगुवासँग संवाद

काठमाडौं। देशका विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामाजिक तनावलाई नियन्त्रण गर्दै शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक अगुवाहरूसँग छलफल सुरु गरेका छन्।

सुनसरी, सिरहा लगायतका क्षेत्रमा बढ्दै गएको प्रदर्शन, असमझदारी र तनावपूर्ण अवस्थालाई समाधान गर्न उनले विभिन्न समुदायका प्रतिनिधिसँग संवाद अघि बढाएका हुन्।

शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा मुस्लिम समुदायका धार्मिक अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए। त्यसैगरी, हिन्दू समुदायको तर्फबाट विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि लामिछानेले संयुक्त रूपमा परामर्श गरेका थिए।

छलफलका क्रममा लामिछानेले देशका संवेदनशील क्षेत्रहरूमा देखिएको तनाव, प्रदर्शन र बढ्दो अविश्वासको वातावरण अन्त्य गर्न धार्मिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनले दुवै समुदायका अगुवालाई आफ्ना समुदायका नागरिकलाई संयमित रहन, सामाजिक एकता कायम राख्न र शान्तिको पक्षमा सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्।

विशेषगरी सुनसरीको देवानगन्ज र सिरहाको गोलबजार लगायतका क्षेत्रमा देखिएको परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न समुदायस्तरबाट सकारात्मक पहल आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा सहभागी धार्मिक अगुवाहरूले पनि नेपाली समाजको पहिचान नै धार्मिक सहिष्णुता, आपसी सम्मान र सद्भावमा आधारित रहेको बताएका छन्। उनीहरूले हिंसात्मक गतिविधि रोक्न, सामाजिक मेलमिलाप कायम गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धार्मिक तथा सामाजिक नेतृत्वबीच भएको यो संवादले पछिल्ला दिनमा देखिएका तनाव कम गर्न र समुदायबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Read More

गाजामा नयाँ राजनीतिक समीकरणको प्रयास, हमासको हतियार नियन्त्रण योजनाबारे ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको भविष्यसँग सम्बन्धित एउटा महत्वपूर्ण पहल सार्वजनिक गर्दै हमाससहित त्यहाँ सक्रिय सशस्त्र समूहहरूको हतियार नियन्त्रण गर्ने दिशामा सहमति बनेको दाबी गरेका छन्। उनका अनुसार यो कदम युद्ध अन्त्य गर्ने मात्र नभई गाजामा स्थायी शान्ति र नयाँ प्रशासनिक संरचना निर्माण गर्ने प्रक्रियाको हिस्सा हो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत यसलाई शान्ति र सुरक्षातर्फ अघि बढेको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले प्रस्तावित योजनाले गाजामा नयाँ राजनीतिक व्यवस्थाको आधार तयार गर्ने बताएका छन्।

तर, यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ। हमासले अहिलेसम्म यस विषयमा औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन। त्यस्तै, गाजामा सक्रिय अर्को सशस्त्र समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि यससम्बन्धी सार्वजनिक भएका विवरणलाई अस्वीकार गरेको छ।

हतियार व्यवस्थापनदेखि नयाँ प्रशासनसम्म : गाजाको भविष्य बदल्ने योजना

सम्बन्धित अधिकारीहरूका अनुसार सशस्त्र समूहहरूको हतियार नियन्त्रण प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउने योजना बनाइएको छ। सुरुमा संगठनसँग सम्बन्धित हतियारहरू व्यवस्थापन गर्ने र त्यसपछि व्यक्तिगत रूपमा रहेका हतियारहरू संकलन गर्ने लक्ष्य राखिएको बताइएको छ।

अमेरिकी पक्षका अनुसार हमासको सैन्य भूमिकालाई अन्त्य गर्दै गाजामा संक्रमणकालीन प्रशासन स्थापना गर्ने योजना अघि सारिएको छ। प्रस्तावित संरचनामा प्राविधिक विशेषज्ञहरू सहभागी हुने र उनीहरूले केही समयका लागि क्षेत्रको प्रशासन सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

यदि योजना कार्यान्वयन भएमा हमासलाई शासन सञ्चालनबाट अलग गर्ने र गाजामा नयाँ राजनीतिक सम्भावना सिर्जना गर्ने उद्देश्य रहेको अधिकारीहरूले बताएका छन्।

सम्झौताको कार्यान्वयनमा चुनौती, इजरायल अझै सतर्क

यो पहल अघि बढाउन अमेरिकाले इजरायलसँग निरन्तर छलफल गरेको जनाएको छ। यद्यपि, हमासले वास्तवमै हतियार त्याग गर्ने विषयमा इजरायली पक्ष अझै विश्वस्त नरहेको बताइएको छ।

अमेरिकी अधिकारीहरूले भने यो प्रक्रिया केवल आपसी विश्वासमा आधारित नभई वास्तविक कार्यान्वयन र परिणामका आधारमा मूल्यांकन गरिने बताएका छन्।

यसअघि हमासले गाजामा सञ्चालन गर्दै आएको आफ्नो प्रशासनिक संरचना अन्त्य गर्ने घोषणा गरेको थियो। उक्त कदमलाई केही विश्लेषकहरूले युद्धविराम प्रक्रियामा दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरेका थिए। तर, त्यस समयमा संगठनले आफ्नो सैन्य शक्ति वा हतियार त्यागबारे कुनै स्पष्ट प्रतिबद्धता जनाएको थिएन।

ट्रम्पको घोषणापछि बोर्ड अफ पिसले हमासले आफ्ना सबै हतियार हटाउने कार्ययोजनामा प्रतिबद्धता जनाएको दाबी गरेको छ। संस्थाका अनुसार आगामी चरणमा इजरायली सेना गाजाबाट हट्ने र नयाँ प्रशासनिक संरचना निर्माण हुने अपेक्षा गरिएको छ।

ट्रम्पले यो योजनाले नयाँ प्यालेस्टिनी प्रशासन गठन गर्ने बाटो खोल्ने बताएका छन्। उनका अनुसार उक्त प्रशासनले बोर्ड अफ पिससँग सहकार्य गर्दै गाजाको व्यवस्थापन गर्नेछ र क्षेत्रलाई पुनः हिंसात्मक गतिविधिको केन्द्र बन्नबाट रोक्ने लक्ष्य राख्नेछ।

Read More

लहानमा कर्फ्यु यथावत्, अत्यावश्यक बाहेकका सेवा बन्द रहने

काठमाडौं । सिरहाको लहान क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ। प्रशासनले बिहान सूचना जारी गर्दै राजमार्ग आसपासको ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू रहेको जनाएको हो।

कर्फ्यु प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा र सञ्चार गृहबाहेक अन्य कार्यालय तथा प्रतिष्ठानहरू स्वतः बन्द रहने प्रशासनले जनाएको छ। प्रशासनले कर्फ्यु लागू भएको क्षेत्रमा अनावश्यक रूपमा प्रवेश नगर्न र आवश्यक काम परे स्थानीय प्रहरीसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैगरी, प्रशासनले सभा, प्रदर्शन, नारा जुलुस तथा भीडभाड हुने गतिविधि नगर्न अनुरोध गरेको छ। जारी सूचनामा कर्फ्यु आदेश उल्लङ्घन गर्ने वा शान्ति सुरक्षामा चुनौती सिर्जना गर्ने गतिविधि भएमा कानुनबमोजिम कडा कारबाही गरिने उल्लेख गरिएको छ।

Read More

जनकपुरधाममा कर्फ्यु कायम, अत्यावश्यक सामग्री खरिदका लागि दुई घण्टा समय खुला

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् रहेको जनाएको छ। प्रशासनका अनुसार सर्वसाधारणले अत्यावश्यक सामग्री खरिदका लागि बिहान ६ बजेदेखि ८ बजेसम्म घरबाहिर निस्कन पाउनेछन्।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालन हुने प्रशासनले स्पष्ट पारेको छ। अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी र दूध ढुवानी गर्ने सवारी साधनलाई सञ्चालन अनुमति दिइएको छ।

यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी तथा विमानस्थल जाने–आउने यात्रुलाई आवश्यक परिचयपत्र वा हवाई टिकटको आधारमा आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले कर्फ्यु आदेश पालना गर्दै शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Read More

साउन १५ मा खीर खाने परम्परा, स्वादसँगै जोडिएको सांस्कृतिक महत्व

काठमाडौं। नेपाली समाजमा साउन १५ गते परम्परागत रूपमा खीर खाएर मनाइँदै आएको छ। वर्षायाममा असार १५ मा दहीच्यूरा र साउन १५ मा खीर खाने चलन नेपाली संस्कृतिको पुरानो परम्पराका रूपमा रहिआएको छ।

साउने झरी र चिसो मौसममा तातो खीर शरीरका लागि लाभदायी हुने विश्वासका कारण पनि यो परम्परा बसेको मानिन्छ। दूधमा चामल, मरमसला तथा विभिन्न सामग्री मिसाएर तयार गरिने खीर स्वादिलो मात्र नभई पौष्टिक आहारका रूपमा पनि लिइन्छ।

संस्कृतमा ‘पायस’ भनिने खीरलाई वैदिक परम्परामा सात्विक भोजनमध्ये एक महत्वपूर्ण परिकार मानिन्छ। धर्मशास्त्रविद्का अनुसार पितृकार्य तथा धार्मिक अनुष्ठानमा समेत खीरको विशेष स्थान रहेको छ।

साउन महिनामा खेतीपातीको मुख्य काम सकिने र गाउँघरमा हरियाली बढ्ने समय भएकाले गाईभैंसीले पनि प्रशस्त दूध दिने गर्छन्। दूधको उपलब्धता बढेपछि इष्टमित्र, चेलीबेटी तथा आफन्तलाई बोलाएर खीर खाने चलन विकास भएको विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार साउन महिना भगवान् शिवसँग सम्बन्धित महिना भएकाले दूधबाट बनेका परिकार शिवलाई चढाउने परम्परा पनि रहेको छ। वैदिक सनातन धर्मावलम्बीहरूले श्राद्धलगायतका पितृ कार्यमा पनि पायस अर्थात् खीरलाई विशेष महत्व दिने गरेका छन्।

खीर विभिन्न प्रकारले बनाउने गरिन्छ। चामलको खीरसँगै साबुदाना, सेवइ, मकै, गाजरलगायत सामग्री प्रयोग गरेर पनि खीर तयार गरिन्छ। साउन महिनामा पाइने हरियो मकैबाट बनाइने मकैको खीर पनि नेपाली समाजमा लोकप्रिय छ।

धार्मिक विश्वासअनुसार खीर तयार गरेपछि पहिले देवतालाई अर्पण गरेर ग्रहण गर्ने चलनसमेत रहेको छ। नेपाली बृहत् शब्दकोशले खीरलाई दूधमा चामल, चिनी, मसला आदि पकाएर तयार गरिने स्वादिष्ट खाद्य पदार्थ अर्थात् पायसका रूपमा उल्लेख गरेको छ।

नेपाली समाजमा विभिन्न महिनामा विशेष परिकार खाने परम्परा रहिआएको छ। असार १५ मा दहीच्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा खाने चलनले नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र सामाजिक एकतालाई समेत जोड्दै आएको छ।

Read More

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, बिहान ५ बजेदेखि आदेश लागू

काठमाडौं। सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक गरेको सूचनाअनुसार जिल्लाको शान्तिसुरक्षा अवस्था कायम राख्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा कर्फ्यु जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको आदेशअनुसार कर्फ्युको दायरा राजविराज नगरपालिकाभित्र पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गअन्तर्गत जुडनी–ढलही क्षेत्र, उत्तरतर्फ रूपनी रोडको बसबिट्टी चोक तथा दक्षिणतर्फ कोशी पश्चिम मूल नहर हुँदै विष्णुपुर गाउँपालिकाको सीमासम्म रहनेछ।

प्रशासनले कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। कर्फ्यु कहिलेसम्म कायम रहने भन्नेबारे भने अर्को आदेशमार्फत जानकारी गराइने प्रशासनले जनाएको छ।

Read More