२०८३ श्रावण १६

लहानमा कर्फ्यु यथावत्, अत्यावश्यक बाहेकका सेवा बन्द रहने

काठमाडौं । सिरहाको लहान क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ। प्रशासनले बिहान सूचना जारी गर्दै राजमार्ग आसपासको ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू रहेको जनाएको हो।

कर्फ्यु प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा र सञ्चार गृहबाहेक अन्य कार्यालय तथा प्रतिष्ठानहरू स्वतः बन्द रहने प्रशासनले जनाएको छ। प्रशासनले कर्फ्यु लागू भएको क्षेत्रमा अनावश्यक रूपमा प्रवेश नगर्न र आवश्यक काम परे स्थानीय प्रहरीसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैगरी, प्रशासनले सभा, प्रदर्शन, नारा जुलुस तथा भीडभाड हुने गतिविधि नगर्न अनुरोध गरेको छ। जारी सूचनामा कर्फ्यु आदेश उल्लङ्घन गर्ने वा शान्ति सुरक्षामा चुनौती सिर्जना गर्ने गतिविधि भएमा कानुनबमोजिम कडा कारबाही गरिने उल्लेख गरिएको छ।