२०८३ श्रावण १६

झापामा सिँचाइ नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको सिँचाइ नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाई खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारेका विषम लिम्बूको मृत्यु भएको हो। मृतक १० वर्षीय बालक हुन्।

घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।