काठमाडौं। देशका विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामाजिक तनावलाई नियन्त्रण गर्दै शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक अगुवाहरूसँग छलफल सुरु गरेका छन्।
सुनसरी, सिरहा लगायतका क्षेत्रमा बढ्दै गएको प्रदर्शन, असमझदारी र तनावपूर्ण अवस्थालाई समाधान गर्न उनले विभिन्न समुदायका प्रतिनिधिसँग संवाद अघि बढाएका हुन्।
शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा मुस्लिम समुदायका धार्मिक अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए। त्यसैगरी, हिन्दू समुदायको तर्फबाट विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि लामिछानेले संयुक्त रूपमा परामर्श गरेका थिए।
छलफलका क्रममा लामिछानेले देशका संवेदनशील क्षेत्रहरूमा देखिएको तनाव, प्रदर्शन र बढ्दो अविश्वासको वातावरण अन्त्य गर्न धार्मिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनले दुवै समुदायका अगुवालाई आफ्ना समुदायका नागरिकलाई संयमित रहन, सामाजिक एकता कायम राख्न र शान्तिको पक्षमा सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्।
विशेषगरी सुनसरीको देवानगन्ज र सिरहाको गोलबजार लगायतका क्षेत्रमा देखिएको परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न समुदायस्तरबाट सकारात्मक पहल आवश्यक रहेको उनको भनाइ थियो।
छलफलमा सहभागी धार्मिक अगुवाहरूले पनि नेपाली समाजको पहिचान नै धार्मिक सहिष्णुता, आपसी सम्मान र सद्भावमा आधारित रहेको बताएका छन्। उनीहरूले हिंसात्मक गतिविधि रोक्न, सामाजिक मेलमिलाप कायम गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
धार्मिक तथा सामाजिक नेतृत्वबीच भएको यो संवादले पछिल्ला दिनमा देखिएका तनाव कम गर्न र समुदायबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




