काठमाडौं । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका आफन्त र स्थानीयवासीले गृहमन्त्री सुदन गुरुङविरुद्ध प्रदर्शन गरेका छन्।
गोलबजार झडपमा ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आउने तयारी भएको खबरपछि आक्रोशित स्थानीय बनिनिया चोकमा भेला भएर विरोधमा उत्रिएका हुन्।
हातमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका छन्। उनीहरूले मृतक बालकलाई न्याय नपाएसम्म र घटनाका दोषीमाथि कारबाही नभएसम्म गृहमन्त्रीलाई गाउँ प्रवेश गर्न नदिने चेतावनी दिएका छन्।
निर्दोष १५ वर्षीय बालकमाथि गोली प्रहार भएको भन्दै स्थानीयवासी र आफन्तहरू आक्रोशित बनेका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।




