काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (अधिक तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले त्यसको अल्पकालीन व्यवस्थापनका लागि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६१ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो।
वित्तीय प्रणालीमा बढेको तरलतालाई नियन्त्रणमा राख्दै ब्याजदर स्थिर बनाउने उद्देश्यले राष्ट्र बैंकले यो प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८२ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस अवधिमा बैंकहरूको औसत कर्जा–निक्षेप (सीडी) रेसियो ७१.०८ प्रतिशतमा झरेको छ।
कानुनी व्यवस्थाअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर कर्जा विस्तार गर्न पाउने भए पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकिङ प्रणालीमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ।
लगानीका अवसर सीमित र कर्जाको माग सुस्त रहँदा बैंकहरूमा अधिक तरलताको दबाब बढिरहेको छ। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा निक्षेप संकलन बोलकबोलमार्फत बजारबाट रकम खिच्दै आएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोल प्रतिस्पर्धात्मक ब्याजदरका आधारमा हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले बहुब्याजदरमा पनि आवेदन दिन सक्नेछन्। आवेदनमा जम्मा गर्न चाहेको रकम र दशमलव पछिका चार अंकसम्म ब्याजदर उल्लेख गर्नुपर्नेछ। प्राप्त प्रस्तावहरूमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै आवश्यकताअनुसार रकम बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।




