काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दासविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दासले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर पदमा नियुक्ति लिँदा भारतबाट प्राप्त गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको आयोगको दाबी छ।
अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी पद, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गत मुद्दा दायर गरिएको हो।
आयोगले दासलाई सोही ऐनबमोजिम कैद तथा जरिवानाको सजायको माग गर्दै विशेष अदालतमा अभियोजन गरेको जनाएको छ।



