२०८३ श्रावण २८

अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार तथा उद्योगलाई प्रतिस्पर्धी दरमा गुणस्तरीय विद्युत् उपलब्ध गराउनेलगायत विषयमा समेत सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

बिहीबार बसेको समितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसहित विभिन्न चार विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा सम्बन्धित विषयगत समितिमार्फत सरकारलाई निर्देशन दिन लागिएको हो।

समितिले अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार गरी चुस्तदुरुस्त राख्न निर्देशन दिने निर्णय गरेको छ। साथै, ती संरचना प्रयोग गर्दा सर्वसाधारण नागरिकमाथि अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको सभापति बुढाथोकीले जानकारी दिए।

त्यस्तै, नेपालमा सञ्चालित उद्योगका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय तथा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।

सभापति बुढाथोकीका अनुसार चार वटा विषयगत समितिले गरेको अध्ययनबाट प्राप्त सुझावका आधारमा बैठकले विभिन्न विषयमा १३ वटा बुँदामा निर्देशन दिने निर्णय गरेको छ। साथै, चार वटा विषयमा सम्बन्धित विषयगत समितिलाई जानकारी गराउने गरी निर्देशन दिने निर्णयसमेत गरिएको उनले जानकारी दिए।