२०८३ भाद्र २८

बाढीपीडितका लागि देशभरबाट जुट्दैछ सहयोग, बाँकेदेखि चितवनसम्म लाखौँ रकम संकलन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि देशका विभिन्न स्थानबाट सहयोग जुट्न थालेको छ।

बाँकेबाट मात्रै विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा व्यक्तिको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपैयाँ जम्मा भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार २१ वटा संस्था तथा व्यक्तिबाट संकलित रकममध्ये नेपालगञ्ज उद्योग वाणिज्य संघले सबैभन्दा बढी ६ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

यसैबीच, बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। समितिले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि ३७ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ। प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीले एक दिनको पारिश्रमिक, भत्ता तथा पेन्सनबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

चितवनका स्थानीय तह पनि राहत र उद्धारमा सक्रिय छन्। कालिका नगरपालिकाले ३५ लाख, माडीले ४३ लाख ९८ हजार २०६, खैरहनीले १५ लाख र इच्छाकामना गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। भरतपुर महानगरपालिकाले यसअघि नै १ करोड १ लाख तथा रत्ननगर नगरपालिकाले ३२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेका छन्।

आर्थिक सहयोगसँगै चितवनका स्थानीय तहले बेपत्ताको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहन र अन्य आवश्यक साधनसमेत प्रभावित क्षेत्रमा परिचालन गरेका छन्।