२०८३ आश्विन १

कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा सडक स्तरोन्नति तीव्र

काठमाडौँ ।  चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम तीव्र पारिएको छ। म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते–सेतोखोला क्षेत्रसम्म पहिरो नियन्त्रण र सडक संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयका अनुसार विभिन्न प्याकेजमा सडक ढलान, नदी कटान नियन्त्रण, ग्यावियन तथा टेवा पर्खाल निर्माण भइरहेको छ। बर्खा र कोरला नाकातर्फ बढेको सवारी चापका बाबजुद निर्माणलाई निरन्तरता दिइएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए।

राहुघाट, घुमाउनेताल, चमेरे र बैसरी क्षेत्रमा करिब १.२ किलोमिटर सडक ढलान तथा ग्यावियन, प्लम र कङ्क्रिट पर्खाल निर्माण भइरहेको छ। यसका लागि शङ्करश्री–क्रियटिभ जेभीले ७ करोड ३० लाख रुपैयाँमा ठेक्का लिएको छ।

कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी क्षेत्रमा भने टेवा पर्खाल, कल्भर्ट तथा सडक ढलानको काम भइरहेको छ। कालीमाता–थापाकाजी–रसुवा जेभीले ८ करोड रुपैयाँमा यसको जिम्मेवारी पाएको हो। भिरकाटेमा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्ने काम भने बर्खा र सवारी चापका कारण हाल रोकिएको छ।

पहिरो नियन्त्रणलाई प्राथमिकता
आयोजनाका अनुसार विभिन्न स्थानमा ग्यावियन जाली तथा प्लम र कङ्क्रिट पर्खाल निर्माण गरी करिब दुई किलोमिटर सडक ढलान गर्ने योजना छ। सिरुवारी र तातोपानीलगायत जोखिमयुक्त क्षेत्रमा प्राविधिक अध्ययन भइरहेको छ।

बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रमा २५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएका सडक स्तरोन्नतिका काम पनि अन्तिम चरणमा पुगेका छन्।

कमजोर भू–बनोटका कारण म्याग्दी खण्डमा बर्खामा बाढी र पहिरोबाट यातायात प्रभावित हुने भएकाले सडक संरक्षण तथा पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिइएको आयोजना कार्यालयले जनाएको छ।