२०८३ आश्विन ५

असोजभित्रै पुनः सञ्चालनमा आउँदै ई–बिडिङ

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) आगामी असोजभित्र पुनः सञ्चालनमा ल्याइने बताएका छन्। पुरानो प्रणालीमा सुरक्षा जोखिम देखिनुका साथै प्रमुख दातृ निकायको विश्वाससमेत कमजोर बनेपछि नयाँ र सुरक्षित प्रणाली विकासको काम भइरहेको उनले बताए।

पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विगतमा ई–बिडिङमार्फत भएका ठेक्कासम्बन्धी गतिविधिमा ह्याकिङका घटना देखिएपछि प्रणाली सञ्चालनमा समस्या आएको जानकारी दिए।

उनका अनुसार वैशाखदेखि नै पुरानो प्रणालीसँगै वैकल्पिक प्रणाली विकासको काम अघि बढाइएको थियो। तर, प्राविधिक अध्ययन र प्रतिवेदनपछि नयाँ प्रणालीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।

नयाँ प्रणाली सुरक्षित रूपमा सञ्चालनमा नआएसम्म करिब एक महिनासम्म ठेक्कापट्टासम्बन्धी प्रक्रिया हार्डकपी अर्थात् कागजी माध्यमबाट अघि बढाउनुपर्ने अवस्था रहेको मन्त्री लम्सालले समितिलाई जानकारी गराए।

उनले नेपालमा प्रयोग भइरहेको विद्युतीय खरिद प्रणालीप्रति अन्तर्राष्ट्रिय दातृ निकायको विश्वाससमेत कमजोर बनेको बताए। विशेषगरी एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले प्रणालीप्रति विश्वास नगरेका कारण कतिपय खरिद प्रक्रिया अझै कागजी माध्यमबाट सञ्चालन भइरहेको उनको भनाइ छ।