२०८३ कार्तिक ७

हुम्लामा वर्षा र हिमपातले जनजीवन प्रभावित

काठमाडौं । हुम्लामा मंगलबार रातिदेखि सुरु भएको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको छ। जिल्लाका उच्च भेगमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा हुँदा चिसो बढेको छ।

नाम्खा र सिमकोटसहितका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली र ताँजाकोट क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ। वर्षाका कारण ग्रामीण कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावत कठिन बनेको छ। केही स्थानमा सडकसमेत अवरुद्ध हुन थालेको स्थानीयले बताएका छन्।

लगातारको वर्षाले खेतबारीमा पाक्न लागेको अन्नबाली र तरकारीमा क्षति पुग्ने जोखिम बढेको छ। खोलानालामा पानीको बहाव बढ्नुका साथै सम्भावित बाढी र पहिरोको जोखिमले स्थानीयमा त्रास बढाएको छ। चिसो बढेपछि पशुचौपायाको संरक्षण र आहार व्यवस्थापनमा समेत समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले वर्षा र हिमपात जारी रहेकाले सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ।