२०८३ कार्तिक ९

बाइक एम्बुलेन्स सञ्चालनको तयारीमा काठमाडौँ महानगर

काठमाडौँ । आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको वैठकमा छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी विच छलफल भएको हो । 

छलफलमा कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिएकी छन् ।

यो प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको थियो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ ।  यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ । 

छलफलमा स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीले महानगरपालिकाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नु पर्ने खाँचो देखाए । 

छलफलमा एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले, संवेदनशील घटना व्यवस्थापन गर्ने जटिल जिम्मेवारीलाई वहन गर्नु सजिलो नभएको धारणा राखे । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले महानगरपालिकासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना विरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएका थिए । 

कोविड १९ का समयमा २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ । 

सम्पर्क गरेपछिको ८ मिनेटमा विरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो । 

Read More

काठमाडौँ महानगरले थाल्यो महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण

काठमाडौँ । काठमाडौँ महानगरले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ ।

पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल गएको महानगरले जनाएको छ । उनीहरुमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको इतिहास रहेको छ । 

पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदा एचपीभी पोजेटिभ देखिए धेरै महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउने गरेको तर, एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु नभएको चिकित्सकहरु बताउछन् । यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुन सक्ने जोखिम हो । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सन्ध्या चापागाईँका अनुसार क्यान्सर रोगका विषयमा समुदाय स्तरमा चेतना विस्तार गर्नु पर्ने धेरै विषयरहेका छन् । 

महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने गरिएको थियो । गएको वर्ष ९८ जनाको परीक्षणमा एचपीभी १६ र १८ देखिएको थिएन । यसकारण यस वर्षको परीक्षणमा एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए । 

सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । 

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ । 

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

Read More

स्वास्थ्य बीमाको उपचारमा औषधि नदिने र अनावश्यक दुख दिने जस्ता कार्य बन्द गर्न बोर्डको चेतावनी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा सुविधा र औषधि उपलब्ध नगराउने गुनासो आएको बताउदै बोर्डले यस्ता कार्य स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५ तथा प्रचलित कानुन विपरीत रहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले यस्ता गतिविधि तुरुन्त बन्द गर्न र सम्बन्धित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । साथै, अनुगमनका क्रममा नियम विपरीत कार्य भएको प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

Read More

काठमाडौँ महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित तालिम सुरु

काठमाडौँ । काठमाडौँ महानगरले हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित तालिम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा वडा नम्बर १ र १२ मा तालिम शुरु गरको हो । यसप्रकारको तालिम सञ्चालन गर्न चैत ५ गते महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सम्झौता गरेको थियो । 

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्रले नेपाल सहित १९२ देशमा मान्य हुनेछ ।  दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य भएको बताउदै महानगरकी स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्यले स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन थालिएको बताएकी छन् । 

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ । 

तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्द नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ । 

Read More

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणका लागि महानगर र वीर अस्पतालबीच सम्झौता

काठमाडौँ । महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो । 

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह रहेका छन् । परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १ सय जनादेखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना कार्यान्वयन गरिनेछ । 

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्छ । 

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

Read More

अध्ययन भन्छ- शरीरको तौल अनुसार कति ग्राम प्रोटिन आवश्यक पर्छ 

काठमाडौँ । स्वस्थ शरीरका लागि प्रोटिन अत्यन्त आवश्यक पोषक तत्त्व मानिन्छ। शरीरमा मांसपेशी निर्माणदेखि कपाल, छाला, एन्जाइम र हर्मोन बन्नेसम्मका धेरै प्रक्रियामा प्रोटिनको महत्वपूर्ण भूमिका रहने विभिन्न अध्ययनले देखाएका छन् । तर धेरै मानिसले खानामा स्वाद र पेट भर्ने कुरामा ध्यान दिए पनि आवश्यक प्रोटिनको मात्रा भने बेवास्ता गर्ने गरेका छन् ।

परम्परागत खानपानमा कार्बोहाइड्रेट बढी हुने भएकाले धेरै मानिसको आहारमा प्रोटिनको कमी देखिने गरेको छ। अध्ययनहरूका अनुसार सामान्य वयस्क व्यक्तिलाई प्रायः आफ्नो शरीरको तौल अनुसार प्रतिकिलो ०.८ देखि १ ग्रामसम्म प्रोटिन आवश्यक पर्छ ।

उदाहरणका लागि ६० किलो तौल भएको व्यक्तिलाई दैनिक करिब ४८ देखि ६० ग्राम प्रोटिन चाहिन्छ । यो मात्रा व्यक्तिको उमेर र शारीरिक सक्रियताका आधारमा अझ बढ्न पनि सक्छ । प्रोटिनको कमी हुँदा मांसपेशी कमजोर हुने, थकान बढ्ने जस्ता समस्या देखिन सक्छन् ।

हार्भड मेडिकल स्कुलले गरेको एक अध्ययनका अनुसार धेरै शारीरिक गतिविधि नगर्ने व्यक्तिका लागि प्रतिकिलो ०.८ ग्राम प्रोटिन पर्याप्त मानिन्छ । तर नियमित व्यायाम गर्ने मानिसलाई भने अझ बढी प्रोटिन आवश्यक हुन्छ । भारी कसरत वा शक्ति अभ्यास गर्ने व्यक्तिलाई मांसपेशी पुनःस्थापनाका लागि प्रतिकिलो तौल अनुसार करिब १.२ देखि १.७ ग्रामसम्म प्रोटिन चाहिने बताइएको छ। खेलाडीका हकमा यो मात्रा २ ग्रामसम्म पुग्न सक्छ ।

उमेरका आधारमा पनि प्रोटिनको आवश्यकता फरक हुन्छ । बालबालिका र किशोरावस्थामा शरीरको विकासका कारण बढी प्रोटिन आवश्यक हुन्छ । ५० वर्षपछि मांसपेशी स्वाभाविक रूपमा घट्न थाल्ने भएकाले वृद्ध व्यक्तिलाई पनि बढी प्रोटिन लिन सल्लाह दिइन्छ । गर्भवती तथा स्तनपान गराइरहेका महिलाले सामान्यभन्दा करिब २० देखि २५ ग्राम बढी प्रोटिन लिनु उपयुक्त हुने बताइएको छ ।

प्रोटिनको कमी हुँदा कपाल झर्ने, नङ कमजोर हुने र बारम्बार बिरामी पर्ने जस्ता लक्षण देखिन सक्छन् । तर आवश्यकभन्दा धेरै प्रोटिन, विशेषगरी पूरक पदार्थमार्फत लिँदा मिर्गौलामा दबाब पर्नुका साथै शरीरमा पानीको कमी हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउछन् ।

विशेषज्ञका अनुसार दाल, पनीर, अण्डा र सोयाबिनजस्ता प्राकृतिक स्रोतबाट प्रोटिन लिनु पूरक पदार्थको तुलनामा सुरक्षित र प्रभावकारी मानिन्छ। सन्तुलित आहारमा प्रोटिनको सही मात्रा समावेश गर्न सके शरीर स्वस्थ रहनुका साथै तौल नियन्त्रण र शरीरको चयापचय प्रक्रियामा पनि सहयोग पुग्ने बताइएको छ ।

Read More

कोभिड खोप र हृदयघातबीचको सम्बन्ध बारे भारतको एम्सको अध्ययनमा के छ ?

काठमाडौँ । कोभिड महामारीको समयमा मानिसहरूलाई खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, २०२४ को अन्त्यसम्ममा विश्वभर १३.६४ अर्बभन्दा बढी कोभिड खोपको डोज लगाइएको छ । डब्लुएचओले अझै पनि खोप सिफारिस गर्दछ ।

यसैबीच, एम्सले गरेको अध्ययनले हृदयघातको प्रमुख कारणको रूपमा हृदय रोग पहिचान गरेको छ ।  एम्स दिल्लीको प्याथोलोजी र फोरेन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको शव परीक्षणमा आधारित अध्ययन सञ्चालन गरेको थियो ।

अध्ययनको शीर्षक ‘युवा वयस्कहरूमा अचानक मृत्युको बोझ: भारतको ठूलो अस्पतालमा एक वर्षको अध्ययन’  रहेको छ । यो अध्ययन इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित भएको थियो, जुन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको प्रमुख जर्नल हो ।

अध्ययनले आघात, आत्महत्या, हत्या, वा लागूपदार्थको दुरुपयोगका कारण हुने मृत्यु बाहेक अचानक मृत्युका घटनाहरूको विश्लेषण गरेको थियो । कुल ९४ युवा (१९-४५ वर्ष) र ६८ वृद्ध (४६-६५ वर्ष) केसहरूको जाँच गरिएको थियो । युवाहरूको औसत उमेर ३३.६ वर्ष थियो ।

एम्स अध्ययनका अनुसार, युवाहरूमा मृत्युको मुख्य कारणहरू निम्न छन्:

– मुटु रोग (हृदय रोग) प्रमुख कारण हो- युवाहरूमा मृत्युको लगभग दुई तिहाइको लागि जिम्मेवार ।

– यी मृत्युहरूमध्ये ८५ प्रतिशतमा एथेरोस्क्लेरोटिक कोरोनरी धमनी रोग फेला परेको थियो, जसको अर्थ मुटुको धमनीहरूमा अवरोधहरू ७० प्रतिशतभन्दा बढी थिए ।

– सबैभन्दा बढी प्रभावित धमनी बायाँ अग्रगामी अवरोही धमनी हो, त्यसपछि दायाँ कोरोनरी धमनी ।

– निमोनिया र क्षयरोग जस्ता श्वासप्रश्वास रोगहरू, एक तिहाइ युवाहरूमा मृत्युको दोस्रो उच्चतम कारण हुन् ।

– युवाहरूमा मदिरा र धूम्रपानको लत ।

– यस अध्ययनमा, लगभग २० प्रतिशत केसहरूमा मृत्युको कुनै स्पष्ट कारण फेला परेन, जसको अर्थ शव परीक्षण पछि पनि मृत्युको कारण निर्धारण गर्न सकिएन ।

खोपहरू सम्बन्धी आफ्नो अध्ययनमा, एम्सले कोभिड संक्रमणको इतिहास वा खोप स्थिति र अचानक मृत्यु बीच कुनै महत्त्वपूर्ण सम्बन्ध नभएको दाबी गरेको छ ।

अध्ययनमा प्रश्नहरू :

पुणेको डिवाई पाटिल मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागका एमेरिटस प्रोफेसर र निर्देशक डा. अमिताभ बनर्जीले एम्स अध्ययनको बारेमा प्रश्न उठाएका छन् । बिबिसीसँग कुरा गर्दै उनले अध्ययनमा रहेका लगभग २० प्रतिशत केसहरूमा मृत्युको कारण थाहा थिएन (अस्पष्ट मृत्यु वा नकारात्मक शव परीक्षण), के यी अज्ञात केसहरूमा कोभिड खोपले भूमिका खेलेको हुन सक्छ ? एम्सले तिनीहरूलाई अझ राम्ररी अनुसन्धान गर्नुपर्थ्यो ।

यद्यपि, एम्सको अध्ययनले यी मृत्युहरूको औसत उमेर केवल ३०.५ वर्ष रहेको बताउछ । धेरैजसो केसहरू ३०-४० वर्षको उमेरका थिए, जसमध्ये ५० प्रतिशत केसहरू २०-३० वर्षको उमेरका थिए । आधा केसहरूमा, मुटुको तन्तुको हिस्टोपाथोलोजीले मुटुको मांसपेशीमा थोरै बाक्लोपन, धमनीहरूमा बोसोको पातलो तह, वा मुटुको साना क्षेत्रहरूमा हल्का रगतको कमीको संकेत जस्ता सानातिना परिवर्तनहरू प्रकट गरेको पाइएको अध्ययनमा उल्लेख छ । एम्सको अध्ययनले यी परिवर्तनहरू मृत्युको प्रत्यक्ष कारण हुन पर्याप्त गम्भीर नभएको बताउछ ।

भारतमा प्रयोग हुने कोभिशिल्ड खोपको सन्दर्भमा डा. बनर्जीले धेरै युरोपेली देशहरूले दुर्लभ तर गम्भीर साइड इफेक्टहरू (जस्तै रगत जम्ने र भीआइटीटी) का कारणले गर्दा कोभिशिल्ड खोपलाई अस्थायी रूपमा निलम्बन गरेको बताए, विशेष गरी युवाहरूमा, यी जोखिमहरूका कारण । साथै उनले एस्ट्राजेनेकाको खोप उत्पादन निलम्बनमाथि पनि प्रश्न उठाएका छन् ।

कोभिड-१९ खोप बनाउने औषधि कम्पनी एस्ट्राजेनेकाले लगभग एक वर्ष अघि यसको खोपले ‘गम्भीर साइड इफेक्ट’ हुन सक्ने बताएको उनले उल्लेख गरेका छन् । कम्पनीले बेलायतको उच्च अदालतमा खोपले थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमसँग थ्रोम्बोसिस भनिने अवस्था निम्त्याउन सक्ने स्वीकार गरेको थियो । एस्ट्राजेनेकाले भारतको सेरम इन्स्टिच्युटसँगको सहकार्यमा भारतमा कोभिशिल्ड विकास गरेको थियो ।

एम्स दिल्लीका प्याथोलोजीका प्रोफेसर तथा अध्ययनका सह-लेखक डा. सुधीर आरवले यस प्रारम्भिक अध्ययनले युवाहरूमा हुने अचानक मृत्यु कोभिड खोपको कारणले नभएको स्पष्ट देखाएको दाबि गर्छन् । खासगरी भारतमा युवाहरूमा हुने यस्ता मृत्युको बारेमा धेरै अध्ययनहरू भएका छैनन् र यसको अनुसन्धान गर्दा यी मृत्युहरू कोभिडसँग सम्बन्धित नरहेको पत्ता लागेको उनको दाबि छ ।

दिल्लीको सर गंगा राम अस्पतालका वरिष्ठ सल्लाहकार डा. मोहसिन वलीले कोभिड खोप र अचानक हृदयघातबाट हुने मृत्युको बारेमा एम्स र आईसीएमआरले गरेको संयुक्त अध्ययनले खोप र युवाहरूमा हुने अचानक हुने मृत्यु बीच कुनै सम्बन्ध नभएको प्रमाणित गरेको बताउछन् ।

उनले भनेका छन्- ‘मलाई विश्वास छ कि हामीले धेरै देशहरूलाई कोभिड खोप नि:शुल्क र दानको रूपमा प्रदान गरेका छौं । हामीले ती देशहरूबाट त्यस्तो कुनै गुनासो प्राप्त गरेका छैनौं । यो हाम्रो देशमा मात्र किन भइरहेको छ ? हाम्रो देशमा, हामी बालबालिकाको दैनिक दिनचर्या र आहारमा कुनै ध्यान दिँदैनौं । हामी उनीहरूको रक्तचाप जाँच गर्दैनौं र हामी फास्ट फूड र चीजको खपतलाई बेवास्ता गर्छौं ।’

उनले एम्सले आफ्नो प्रतिवेदनमा खोपको अचानक मृत्युसँग कुनै सम्बन्ध नभएको बताएको र एम्सले आफ्नो अध्ययनमा युवाहरूमा हुने अचानक मृत्युको अन्तर्निहित कारणहरू पनि स्पष्ट पार्नुपर्नेमा त्यसो नगरेको बताए ।

यद्यपि एम्सको अध्ययनले युवाहरूमा हुने अचानक मृत्युको प्रमुख कारण हृदय रोगलाई पहिचान गरेको छ, त्यसपछि श्वासप्रश्वास समस्याहरू छन् । ८५ प्रतिशत मुटुको समस्याबाट हुने मृत्युमा, कोरोनरी धमनी रोग हृदयघातको प्रमुख कारण एम्सको अध्ययनले औल्याएको छ । भारतमा पहिले मुटु रोगहरू हुने गर्थे, तर अब ती कम उमेरमा भइरहेका छन् । यसको लागि तीन तनाव, निद्रा (अर्थात्, निद्राको कमी) र धूम्रपान जिम्मेवार रहेका छन् ।

युवाहरूमा हुने अचानक मृत्युको श्रेय काम गर्ने बानी र सम्बन्धित व्यवहारलाई दिन्छन् । धेरै युवाहरूले मदिरा र धुम्रपान पिउछन्, जसले प्रत्यक्ष रूपमा कोरोनरी धमनी रोगमा योगदान पुर्‍याउछ र यसकालागी जीवनशैली परिवर्तन आवश्यक रहेको विज्ञहरुले औल्याएका छन् ।

एम्सको यो अध्ययनले भारतमा युवाहरूमा मुटु रोगको तीव्र वृद्धिलाई प्रकाश पार्छ, जसको कारण तनाव, खराब आहार, अपर्याप्त व्यायाम र जीवनशैली हो । अध्ययनले स्वास्थ्य शिक्षा, नियमित जाँच र स्क्रिनिङ मार्फत यी मृत्युहरूलाई रोक्न सकिने बताउछ ।

Read More

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुःखद घटना: भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत इन्टर्न डाक्टरको भवनबाट खसेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे, मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। घाइते यादवको उपचारको क्रममा निधन भएको हो । उनी सप्तरीको राजविराज नगरपालिका-९, जगदरी निवासी हुन् ।

घटनापछि गम्भीर अवस्थामा रहेका यादवलाई तत्काल नोबेल शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर टाउकोमा गहिरो चोट लागेकाले उपचारका क्रममा आज बिहान उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईका अनुसार चिकित्सकहरूको अथक प्रयासका बाबजुद यादवलाई बचाउन नसकिएको हो। उनी नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। यस दुःखद घटनाले सहकर्मी, विद्यार्थी र परिवारजनलाई स्तब्ध बनाएको छ।

Read More

बालबालिकाको क्यान्सर विश्वमै गम्भीर चुनौती बन्दै

काठमाडौँ । प्रत्येक वर्ष, विश्वभर १५ वर्ष मुनिका दुई लाखभन्दा बढी बालबालिकाले क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्छन्, तर उनीहरूको भाग्य उनीहरूको रोगले भन्दा पनि उनीहरूको देशको आर्थिक र स्वास्थ्य प्रणालीले निर्धारण गर्छ ।

धनी देशहरूमा, १० मध्ये ८ बालबालिका क्यान्सरबाट बच्छन् भने, गरिब र मध्यम आय भएका देशहरूमा, उपचारको अभावले प्रत्येक वर्ष लगभग ७५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यो केवल एक चिकित्सा संकट मात्र होइन, तर विश्वव्यापी असमानताको सबैभन्दा मार्मिक अनुहार हो ।

विश्वव्यापी तथ्याङ्कले क्यान्सरबाट बालबालिकाको औसत बाँच्ने दर केवल ३७ प्रतिशत छ, जबकि उच्च आय भएका देशहरूमा, यो दर ८० प्रतिशत वा सोभन्दा बढी पुग्छ । यसको अर्थ एउटै उमेर, एउटै रोगको लागि, तर देश परिवर्तनसँगै, बाँच्ने सम्भावना तीन गुणासम्म फरक हुन्छ । यो भिन्नता औषधि वा प्रविधिको कारणले होइन, बरु समयमै पत्ता लगाउने, उपचारको उपलब्धता र स्वास्थ्य पूर्वाधारको कारणले हो ।

अध्ययनहरूले स्पष्ट रूपमा बाल मृत्युको कारण केवल रोग मात्र होइन, तर उपचारमा सीमित पहुँच र कमजोर स्वास्थ्य प्रणाली हो । इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरको तथ्याङ्कमा आधारित एक अध्ययन अनुसार, प्यूर्टो रिकोमा केन्द्रीय स्नायु प्रणाली ट्युमर भएका लगभग ८० प्रतिशत बालबालिका रोग पत्ता लागेको तीन वर्ष बाँच्छन् ।

ल्यूकेमियाका केसहरूमा यो असमानता अझ चिन्ताजनक छ । केन्यामा केवल ३० प्रतिशत बालबालिका निदान भएको तीन वर्ष पछि बाँच्छन् भने, प्यूर्टो रिकोमा यो दर ९० प्रतिशत पुग्छ । यसको अर्थ देश परिवर्तनसँगै जीवन र मृत्यु बीचको रेखा धमिलो हुँदै जान्छ ।

अध्ययनले धेरैजसो बाल्यकालको क्यान्सरका केसहरू युरोप र उत्तरी अमेरिकामा रिपोर्ट गरिएको भए पनि, मृत्युको सबैभन्दा बढी संख्या अफ्रिका, एसिया र दक्षिण अमेरिकामा हुन्छ । २३ देशका लगभग १७ हजार बालबालिकाको तथ्याङ्कले बाल्यकालको क्यान्सर अब केवल स्वास्थ्य समस्या मात्र नभएर विकास, नीति र सामाजिक न्यायको लागि गम्भीर चुनौती भएको स्पष्ट रूपमा देखाउँछ ।

विज्ञहरूका अनुसार, कम र मध्यम आय भएका देशहरूमा प्रायः क्यान्सरको निदान ढिलो हुन्छ। उपचारका स्रोतहरू सीमित छन्, हेरचाहको गुणस्तर कमजोर छ, र आर्थिक कठिनाइले प्रायः उपचार त्याग्नु पर्ने हुन्छ ।

Read More

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि सात उम्मेदवारको अन्तर्वार्ता हुने

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार छनोट तथा सिफारिस समितिले सात जनालाई छनौट गरेको छ ।

समितिले सात उम्मेदवारको सङ्क्षिप्त सूचि प्रकाशित गर्दै आफूले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका सक्कलै कागजातहरूसहित प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।

समितले खेमराज जोशी, गोविन्द सिंह विष्ट, डबल बहादुर धामी, डमरु प्रसाद पनेरु, पदमराज जोशी, भिमबहादुर चन्द र शिवप्रसाद सापकोटालाई छनौट गएको छ ।

समितले छनौट भएका उम्मेदवारको  प्रस्तुतीकरण र अन्तर्वार्ता पौष ८ गते मङ्गलवार सिंहदरबारस्थित शिक्षामन्त्रालयमा बिहान ९ बजेदेखि हुने जानकारी दिएको छ ।

Read More