२०८३ आश्विन २१

स्वास्थ्य बीमामा पुसदेखि १६ वर्षमाथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने तथा सेवा लिने १६ वर्ष वा सोभन्दा माथिका नागरिकले आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरणसमेत अद्यावधिक गर्नुपर्नेछ।

बोर्डले राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान यकिन गर्न, दोहोरो आबद्धता नियन्त्रण गर्न तथा केवाईसी विवरण अद्यावधिक गर्न सहज हुने जनाएको छ। यसबाट बीमा दाबी व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमा सेवा खरिद र भुक्तानीलाई थप व्यवस्थित तथा लागत–प्रभावकारी बनाउन बोर्डले रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ।

यसैगरी, ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबीसम्बन्धी विवरणलाई निर्धारित मापदण्डका आधारमा मान्यता दिने निर्णय भएको छ। पहिलो चरणमा २ हजार १ सय ८९ वटा कस्टमाइज्ड आईसीडी–११ कोड आईएमआईएसमा प्रयोग गरिने बोर्डले जनाएको छ।

Read More

काठमाडौं महानगरले सुत्केरीको घरमै स्वास्थ्य जाँच गर्ने कार्यक्रम ल्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य निगरानीका लागि ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। महानगरले आफ्नै आन्तरिक स्रोतबाट कार्यक्रम अघि बढाउने तयारी गरेको हो।

कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्यकर्मी घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेछन्। महानगरका फोकल पर्सन चन्द्रा भट्टका अनुसार अस्पतालमा सुरक्षित रूपमा प्रसूति भए पनि त्यसपछिका दिनमा आमा र शिशुको स्वास्थ्यमा देखिन सक्ने जटिलताका कारण घरमै निगरानी आवश्यक हुन्छ।

सुत्केरीपछि आमामा रक्तश्राव, संक्रमण र उच्च रक्तचापलगायत समस्या देखिन सक्ने तथा नवजात शिशुमा पनि विभिन्न स्वास्थ्य जटिलता आउन सक्ने भएकाले त्यस्ता समस्या समयमै पहिचान गरी जोखिम घटाउनु कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार सहरी जीवनशैली, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म नियमित पुग्नुपर्ने अवस्थाका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको छ। यही अवस्थालाई ध्यानमा राखेर घरमै स्वास्थ्य सेवा पुर्‍याउने तयारी गरिएको हो।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गराउने दर ७० प्रतिशत छ। स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यस्तो परीक्षणको दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ।

काठमाडौं महानगरपालिकामा पनि घरमै सुत्केरी जाँच गराउने दरमा उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा दुई पटकसम्म घरमै सुत्केरी जाँच गराउने महिलाको अनुपात १.१८ प्रतिशत थियो। यो दर आव २०८१/८२ मा ११.१८ प्रतिशत पुगे पनि आव २०८२/८३ मा ४.७१ प्रतिशतमा झरेको महानगरको तथ्यांक छ।

Read More

बाढी प्रभावित गल्छीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालन

काठमाडौँ। बाढीका कारण लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ ।

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’अन्तर्गत महेशखोला–भट्टटार–जिन्टेटार डिप बोरिङ खानेपानी योजना मर्मत तथा पुनःस्थापना गरिएपछि स्थानीयको घरघरमा खानेपानी पुगेको हो ।

योजना मर्मतका लागि रेडक्रसले रु चार लाख ४६ हजार ६८० सहयोग गरेको थियो । उक्त रकमबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको जनाइएको छ ।

योजना पुनःसञ्चालनको अवसरमा आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी सेवाको औपचारिक शुभारम्भ गरे । उनले बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनःसेवा उपलब्ध गराउन रेडक्रसले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङले विपद्का समयमा खानेपानीजस्तो आधारभूत सेवा पुनःस्थापना गर्नु मानवीय सहयोगको महत्वपूर्ण पक्ष भएको बताए ।

जिल्ला कार्यक्रम संयोजक सरोज थापाले बाढीपछि खानेपानीको अभाव झेलिरहेका स्थानीयको जनजीवन अब क्रमशः सामान्य बन्दै जाने विश्वास व्यक्त गरे ।

विसं २०८३ भदौ १७ गते सम्झौता गरी सुरु गरिएको मर्मत कार्य निर्धारित समयमै सम्पन्न भएको रेडक्रसले जनाएको छ । योजना सञ्चालनमा आएसँगै स्थानीयवासीलाई दैनिक उपभोगका लागि खानेपानीको सहज पहुँच भएको छ ।

बाढीपछि राहत र उद्धारसँगै प्रभावित समुदायका आधारभूत आवश्यकता तथा महत्वपूर्ण पूर्वाधार पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको रेडक्रसले जनाएको छ । खानेपानी सेवाको पुनःस्थापनाले तत्कालीन राहतसँगै प्रभावित समुदायलाई सामान्य जीवनमा फर्किन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाढी प्रतिकार्यअन्तर्गत मानवीय सहायता जारी

नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका विभिन्न कार्यक्रम जारी राखेको जनाएको छ । रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार भोटेकोशी बाढीपछि सुरुआती चरणदेखि नै खोज तथा उद्धारमा सहयोग गर्दै अहिले राहत, स्वास्थ्य, खानेपानी तथा अन्य मानवीय सेवाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

उनका अनुसार प्रभावित परिवारलाई त्रिपाल, म्याट्रेस, कम्बललगायत आवास तथा गैरखाद्य सामग्री वितरण भइरहेको छ । दुई हजारभन्दा बढी प्रभावित परिवारलाई खाद्य सामग्रीसमेत उपलब्ध गराइएको छ ।

पछिल्लो एक महिनामा करिब दुई हजार २०० प्रभावित घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको र १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको रेडक्रसले जनाएको छ । आवश्यक स्थानमा ट्याङ्करमार्फत समेत पानी वितरण भइरहेको छ ।

रेडक्रसका अनुसार स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग, आपत्कालीन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना र बहुउद्देश्यीय नगद तथा भौचर सहायताका कार्यक्रम पनि सञ्चालनमा छन् ।

विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने योजना रहेको महामन्त्री खनालले बताए ।

प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको रेडक्रसले जनाएको छ ।

Read More

क्यान्सर अस्पतालमा एक वर्षमा २ लाख १२ हजारभन्दा बढीले लिए ओपिडी सेवा

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा हरेक वर्ष असोज १० गते वार्षिक स्वास्थ्य सेवा तथा उपचारसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।

सन् २०२५ मा ओपिडी सेवा लिने कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका थिए भने बाँकी पुराना बिरामी पुनः परीक्षणका लागि अस्पताल आएका थिए। अस्पतालका डा. सुशील अधिकारीका अनुसार सो वर्ष अस्पतालमा आएका बिरामीमध्ये ६ हजार ८५८ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका छन्।

ओपिडी सेवामा बिरामीको संख्या बढ्यो

सन् २०२४ को तुलनामा सन् २०२५ मा अस्पतालको ओपिडी सेवा लिने बिरामीको संख्या बढेको छ। सन् २०२४ मा दुई लाख चार हजार ९७१ जनाले ओपिडी सेवा लिएका थिए, जसमा ३१ हजार ५६० जना नयाँ बिरामी थिए। सोही वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका थिए।

सेवा तथा विवरणसन् २०२४सन् २०२५
ओपिडी सेवा लिने बिरामी२,०४,९७१२,१२,९७७
नयाँ बिरामी३१,५६०२७,२४३
नयाँ क्यान्सरका बिरामी७,००९६,८५८
आकस्मिक सेवा लिने बिरामी३०,८०१२६,१२६
भर्ना भएर उपचार गर्ने बिरामी१२,०४७११,५५९
ठूला शल्यक्रिया३,१६९३,०९१
डे केयर सेवा२७,४९३—
विकिरण प्रविधिबाट उपचार—२,९७०
डे केयरमार्फत केमोथेरापी—२६,४७२

सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका छन् भने ११ हजार ५५९ जना बिरामी भर्ना भएर अन्तरङ्ग सेवा लिई उपचार गराएका छन्। सोही अवधिमा अस्पतालमा तीन हजार ९१ वटा ठूला शल्यक्रिया सम्पन्न भएका छन्।

यसअघि सन् २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर उपचार गराएका थिए। सो वर्ष तीन हजार १६९ वटा ठूला शल्यक्रिया गरिएको थियो। यस्तै, २७ हजार ४९३ जनाले डे केयर सेवा लिएका थिए।

सन् २०२५ मा २,९७० जनाले विकिरण उपचार लिए

सन् २०२५ मा विकिरण प्रविधि (सेकाई) मार्फत उपचार गराउने बिरामीको संख्या दुई हजार ९७० पुगेको छ। त्यस्तै, डे केयरमा भर्ना भई केमोथेरापी लिने बिरामीको संख्या २६ हजार ४७२ रहेको अस्पतालले जनाएको छ।

विपन्न १० हजार ९२० बिरामीको निःशुल्क उपचार

अस्पतालले एक वर्षको अवधिमा १० हजारभन्दा बढी विपन्न बिरामीलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराएको छ। सन् २०२५ मा १० हजार ९२० जना विपन्न नागरिकले अस्पतालबाट निःशुल्क उपचार पाएका छन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार विपन्न बिरामीको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ १६ पैसा बराबरको छुट प्रदान गरिएको छ।

यस्तै, क्यान्सर सेवा समाजमार्फत १७६ जना बिरामीलाई १५ लाख ७३ हजार १४५ रुपैयाँ बराबरको छुट दिइएको छ।

तुलनात्मक रूपमा सन् २०२४ मा नौ हजार ११२ जना विपन्न बिरामीले उपचार सुविधा पाएका थिए। उनीहरूलाई ३५ करोड ५८ लाख २२ हजार २०६ रुपैयाँ ९५ पैसा बराबरको छुट दिइएको थियो। सोही वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जना बिरामीले १३ लाख ९० हजार ३६४ रुपैयाँ बराबरको छुट पाएका थिए।

विपन्न तथा छुटसम्बन्धी विवरणसन् २०२४सन् २०२५
निःशुल्क उपचार पाउने विपन्न बिरामी९,११२१०,९२०
विपन्न बिरामीलाई दिइएको छुटरु. ३५,५८,२२,२०६.९५रु. ४३,१२,१४,१६१.१६
क्यान्सर सेवा समाजमार्फत लाभान्वित२१५१७६
समाजमार्फत दिइएको छुटरु. १३,९०,३६४रु. १५,७३,१४५

जनरल बेड र खाना निःशुल्क

पाँच सय शय्या क्षमताको अस्पतालले आइसियू, एचडियू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालले बताए।

अस्पतालमा भर्ना भएर उपचाररत बिरामीलाई दुई छाक खाना र एक छाक नास्तासमेत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने गरिएको छ।

एक सय चिकित्सकसहित ७१८ कर्मचारी कार्यरत

उपचार, अनुसन्धान तथा रोग निवारण र रोकथामको उद्देश्यसहित विसं २०५३ मा ऐनमार्फत सरकारको स्वायत्त संस्थाका रूपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको हो।

सुरुवातमा एक सय शय्या क्षमताको रहेको अस्पताल अहिले पाँच सय शय्यामा विस्तार भएको छ। चीन सरकारद्वारा निर्माण गरिएको यस अस्पतालमा नेपालका विभिन्न जिल्लाबाट मात्रै नभई भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

हाल अस्पतालमा एक सय जना चिकित्सक र २९५ जना नर्ससहित कुल ७१८ जना कर्मचारी कार्यरत छन्।

Read More

बाढीपछि रसुवामा हैजाविरुद्ध खोप अभियान सुरु

काठमाडौं। बाढीपछि जलजन्य रोगको जोखिम बढ्न सक्ने भन्दै रसुवामा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका चार गाउँपालिकामा आजदेखि एक सातासम्म सञ्चालन हुने अभियानमा एक वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई खोप दिइने भएको छ।

नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका अन्य चार गाउँपालिकामा अभियान सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले जानकारी दिए। स्वास्थ्यकर्मी, स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाको समन्वयमा विभिन्न केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको छ।

हाल ज्वरो आएका वा पखाला लागिरहेका व्यक्तिलाई भने तत्काल खोप नदिइने स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्ता व्यक्तिले स्वास्थ्यमा सुधार आएपछि मात्र खोप लगाउन सक्नेछन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य सेवामा प्रत्यक्ष रूपमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीलाई हैजाविरुद्धको खोपसँगै टिटानस र डिप्थेरियाविरुद्धको खोपसमेत लगाउने व्यवस्था गरिएको छ।

बाढीका कारण खानेपानी दूषित हुन सक्ने र सरसफाइको अवस्था प्रभावित हुने भएकाले हैजा तथा अन्य जलजन्य रोग फैलिने जोखिमलाई ध्यानमा राखेर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य प्रशासनले जनाएको छ।

अभियानमा सहभागी भएर तोकिएका खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालयले जिल्लावासीलाई आग्रह गरेको छ।

Read More

भोटेकोशी बाढीपीडितको उपचारका लागि १ करोड ५० लाख सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन युएसभी फार्मास्युटिकल्सले रु १ करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।

सहयोगसम्बन्धी सम्झौता बिहीबार नेपाल चिकित्सक सङ्घ र युएसभी फार्मास्युटिकल्सबीच भएको हो। सम्झौतामा सङ्घका अध्यक्ष डा. बद्री रिजाल र कम्पनीका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बाढी प्रभावितलाई तत्काल आवश्यक पर्ने औषधि तथा अन्य स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले तयार गरी कम्पनीलाई उपलब्ध गराउनेछ।

उक्त विवरणका आधारमा युएसभी फार्मास्युटिकल्सले आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने र प्रभावित परिवारसम्म पुर्‍याउने व्यवस्था मिलाइनेछ।

बाढीबाट प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग केन्द्रित रहने नेपाल चिकित्सक सङ्घले जनाएको छ।

Read More

अस्पतालको गेटमै सुत्केरी भएको घटनामा छानबिन, दोषीलाई कारबाही गर्ने प्रशासनको प्रतिबद्धता

काठमाडौँ । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै एक महिलाले बच्चा जन्माएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।

प्रसूति गराउन अस्पताल पुगेकी महिलालाई समयमै उपचार तथा प्रसूति सेवा उपलब्ध हुन नसक्दा अस्पतालको प्रवेशद्वारमै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको थियो। घटनापछि अस्पताल प्रशासनको सेवा प्रवाहमाथि प्रश्न उठेको छ।

बिहीबार जारी विज्ञप्तिमार्फत अस्पतालले घटनाको वास्तविकता पत्ता लगाउन आन्तरिक छानबिन समिति गठन गर्ने जनाएको छ। छानबिनबाट कर्मचारी वा सम्बन्धित पक्षको लापरबाही पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले स्पष्ट पारेको छ।

अस्पतालले घटना संवेदनशील भएकाले निष्पक्ष रूपमा छानबिन गरी आवश्यक सुधारका कदम चालिने प्रतिबद्धता जनाएको छ।

यस घटनाले बिहीबार प्रतिनिधिसभामा समेत प्रवेश पाएको छ। सांसदहरूले संसद् बैठकमा अस्पतालको सेवा र घटनाबारे प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Read More

किष्टमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

काठमाडौँ । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणपछि आवश्यक उपचार र चिकित्सकीय निगरानी पूरा भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

बालिकाकी ३३ वर्षीया आमाले आफ्नो कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको चिकित्सकहरूले बताएका छन्।

अस्पतालका अनुसार प्रत्यारोपण शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक, सघन उपचार तथा आवश्यक पूर्व र प्रत्यारोपणपछिको उपचारलाई समन्वय गरेर सेवा दिइएको थियो।

५ वर्षीया बालिकामा गरिएको यो सफल प्रत्यारोपणलाई किष्टले आफ्नो प्रत्यारोपण सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। केन्द्रले बालबालिकासहित जटिल बिरामीका लागि नेपालमै उन्नत प्रत्यारोपण सेवा विस्तार गर्ने जनाएको छ।

Read More

बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप व्यवस्थापन तीव्र

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक तयारीसँगै खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाएको छ। त्यससँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ।

रसुवामा भने यसअघि नै हेलिकोप्टरमार्फत हैजाविरुद्धको खोप पठाइसकिएको छ। मन्त्रालयका अनुसार रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिनेछ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा लगायतका पानीजन्य रोगको संक्रमण फैलिने जोखिम बढेको मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राख्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक खोप, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न व्यवस्थापनलाई निरन्तरता दिइरहेको जनाएको छ।

Read More

निजामती कर्मचारी अस्पतालमा आइतबार विशेष ओपिडी सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी र उनीहरूका परिवारका लागि प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति, छाला, नाक–कान–घाँटी, रेडियोलोजी र प्याथोलोजी सेवा उपलब्ध हुनेछन्।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार सेवामा आगामी दिनमा थप विशेषज्ञ सेवा पनि समावेश गरिनेछ। कर्मचारीलाई लामो समय लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको उनले बताइन्।

Read More