काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ। आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागले सङ्क्रमित पन्छी बजारमा बिक्री भएको पाइएमा तत्काल कारबाही गरिने जनाएको हो।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले थप फैलिन नदिन आवश्यक निर्देशन जारी गरिएको उनले बताए।
संक्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ सक्रिय रूपमा परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ अघि बढेको विभागले जनाएको छ।
विभागका अनुसार मरेका कुखुरा जथाभावी फाल्ने वा सङ्क्रमित पन्छी नष्ट गर्ने क्रममा लापरबाही भएमा मान्छेमा सर्ने जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हालसम्म प्रभावित क्षेत्रमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र करिब तीन लाख किलो दाना नष्ट गरिएको छ।
प्रवक्ता डा. उपाध्यायले बर्डफ्लुको प्रभावकारी खोप अझै विकास नभएकाले संक्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै एक मात्र विकल्प रहेको बताए। साथै, नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन भइरहेको पनि विभागले जनाएको छ।




