काठमाडौं । इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी गरेको छ । ३६ वर्षसम्म देशको नेतृत्व गरेका खामेनीको गत फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणमा निधन भएको थियो ।
उनको अन्त्येष्टिमा लाखौं शोकाकुल नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । शुक्रबार बिहानदेखि तेहरानका सडकमा सेना र प्रहरीको बाक्लो उपस्थिति देखिएको छ भने खामेनीका तस्बिरसहितका पोस्टरहरू राखिएका छन् । इरानी अधिकारीहरूले अन्त्येष्टिलाई राष्ट्रिय एकता, शक्ति र लचिलोपनको प्रदर्शनका रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
कार्यक्रम तालिकाअनुसार शनिबारदेखि सोमबारसम्म तेहरानमा छ दिनसम्म विभिन्न श्रद्धाञ्जली कार्यक्रम सञ्चालन हुनेछन् । खामेनीको पार्थिव शरीर सार्वजनिक श्रद्धाञ्जलीका लागि ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राखिनेछ । सोमबार राजधानी तेहरानमा मुख्य अन्त्येष्टि जुलुस निकालिनेछ ।
त्यसपछि मंगलबार जुलुस पवित्र सहर कोम पुग्नेछ भने बुधबार इराकका नजफ र कार्बलामा धार्मिक समारोह आयोजना गरिनेछ । अन्तिम संस्कारका लागि बिहीबार खामेनीको शव उनको गृहनगर मशहद पुर्याइने कार्यक्रम छ ।
इरानी प्रहरीले अन्त्येष्टिमा एक करोड ५० लाखदेखि दुई करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरेको छ । साथै, ३० भन्दा बढी देशका नेता तथा प्रतिनिधिहरूको पनि सहभागिता रहने जनाइएको छ ।
अल जजीराका अनुसार सुरक्षालाई ध्यानमा राख्दै शनिबारदेखि सोमबारसम्म सार्वजनिक तथा निजी कार्यालयहरू बन्द रहनेछन् भने तेहरानको हवाई क्षेत्र आंशिक रूपमा बन्द गरिएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का नयाँ प्रमुख ब्रिगेडियर जनरल अहमद वाहिदी पनि समारोहमा सहभागी भएका छन् । उनी लामो समयपछि सार्वजनिक रूपमा देखिएका हुन् । विश्लेषकहरूले उनलाई इरानको धार्मिक–राजनीतिक प्रणालीका कट्टर समर्थकका रूपमा चित्रण गरेका छन् ।
यसैबीच, अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायल समर्थक लबिङ समूहहरूको अमेरिकी राजनीति र निर्वाचनमा परेको प्रभावको आलोचना गरेका छन् । उनले एआईपीएसीजस्ता अर्बपति–समर्थित सुपर पीएसीहरूले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने र श्रमिक हितका उम्मेदवारहरूलाई हराउन असीमित रकम खर्च गरिरहेको आरोप लगाए ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इजरायलले इरानसँगको वार्ताका क्रममा मुख्य इरानी वार्ताकारहरू विदेशमन्त्री अब्बास अराघची र सभामुख मोहम्मद बाकर गालिबाफलाई लक्षित गर्ने योजना बनाएको थियो ।
यता, इरानको सैन्य कमान्डले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूलाई इरानी सेनाले तोकेको मार्ग पालना गर्न निर्देशन दिँदै उल्लङ्घन गरे ‘कडा प्रतिक्रिया’ सामना गर्नुपर्ने चेतावनी दिएको छ।
Read More