२०८३ श्रावण ११

कृत्रिम इन्धन अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई कडा कारबाही गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कुनै उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई कारबाही गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ संशोधन गर्दै अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही गर्न सकिने व्यवस्था लागू गरेको हो ।

नयाँ नियमअनुसार यस्ता गतिविधिमा संलग्न व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक लगाउन सकिने व्यवस्था गरिएको छ ।

हालै इन्धनको मूल्य घट्ने अनुमानका कारण केही व्यवसायीले मंगलबार निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा बुधबार देशभर इन्धन आपूर्तिमा असर परेको थियो ।

अत्यावश्यक वस्तुको आपूर्तिमा जानाजान अवरोध भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले तत्काल कदम चाल्न निगमलाई निर्देशन दिएकी थिइन् ।

सोही निर्देशनअनुसार निगम सञ्चालक समितिले विनियमावली संशोधन गर्दै पेट्रोल पम्पले ‘नोजल सुक्खा’ (dry) राखेर कृत्रिम अभाव सिर्जना गर्न नपाउने प्रावधान थपेको हो ।

संशोधित व्यवस्थाअनुसार गल्ती दोहोरिएको आधारमा दण्ड कडा हुने व्यवस्था गरिएको छ । पहिलो पटक ३ लाख रुपैयाँ जरिबाना र ५ दिन आपूर्ति रोक, दोस्रो पटक ६ लाख रुपैयाँ जरिबाना र १० दिन रोक तथा तेस्रो पटक १० लाख रुपैयाँ जरिबाना र १५ दिनसम्म इन्धन आपूर्ति पूर्ण रूपमा बन्द गरिने उल्लेख छ ।