२०८३ श्रावण १०

विद्यालयमा राष्ट्रिय सेवा दलमार्फत सैन्य तालिम दिने सरकारको तयारी

काठमाडौं । सरकारले विद्यालय तहमा राष्ट्रिय सेवा दल गठन गरी विद्यार्थीलाई सैन्य तालिम दिने तयारी गरेको छ ।

सरकारले राष्ट्रिय सेवा दललाई समयसापेक्ष परिमार्जन गर्दै नागरिकलाई राष्ट्रसेवामा तत्पर बनाउन उद्देश्यसहित ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ संघीय संसदमा दर्ता गरेको हो ।

हाल कार्यान्वयनमा नरहेको राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई प्रतिस्थापन गर्दै संविधानको भावना र संघीय संरचनाअनुसार नयाँ व्यवस्था गर्न विधेयक ल्याइएको उल्लेख छ ।

प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहद्वारा प्रस्तुत विधेयकको मुख्य उद्देश्य विद्यालय तहका विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्नु रहेको बताइएको छ ।

संविधानको धारा ५१ (क) मा उल्लेखित राष्ट्रिय सुरक्षा नीतिअनुसार नागरिकलाई राष्ट्रसेवामा सक्षम बनाउने लक्ष्य पनि यसले राखेको छ ।

५६ वर्ष पुरानो ऐनले वर्तमान आवश्यकता सम्बोधन गर्न नसकेकाले नयाँ कानुन आवश्यक भएको विधेयकको ‘उद्देश्य र कारण’ मा उल्लेख गरिएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई तालिममा सहभागी गराइनेछ ।

तालिमलाई दुई तहमा विभाजन गरिनेछ । कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने १३ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई जुनियर डिभिजन र कक्षा ११ तथा १२ का १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई सिनियर डिभिजनमा राखिने व्यवस्था गरिएको छ ।