२०८३ श्रावण १०

२४ घण्टामा २,००० भन्दा बढी चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घनमा कडाइ

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २,०४२ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घन नियन्त्रण अभियान अन्तर्गत गरिएको कारबाहीबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ५६ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२१ जना तथा ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने ८७ जनालाई कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १७३ चालक पनि नियन्त्रणमा परेका छन्।

यसैगरी लेन अनुशासन पालना नगर्ने १२८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ जना र सडक पेटीमा पार्किङ गर्ने ८५ चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ। एकतर्फी सडकमा सवारी चलाउने ५६ जनासहित अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,२४९ जनामाथि समेत कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सवारी अनुशासन पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लङ्घनले दुर्घटनाको जोखिम बढाउने भएकाले जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।