काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले आँखा उपचार सेवाको पहुँच विस्तार गर्दै विदेशमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्न थालेको छ । नेपालका ग्रामीण तथा विपन्न समुदायमा आँखा सेवा पुर्याउँदै आएको सङ्घले आवश्यकताका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत शिविर आयोजना गर्न थालेको जनाएको छ ।
नेपाली विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा विदेशमा सञ्चालन गरिएका आँखा शिविर प्रभावकारी बन्दै गएको सङ्घले जनाएको छ । नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा विकास गर्ने, गुणस्तरीय आँखा चिकित्सा शिक्षा प्रवर्द्धन गर्ने र अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यसहित सङ्घले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।
यसैक्रममा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित Lumbini Eye Institute and Research Center को प्राविधिक सहयोग तथा Embassy of Nepal, Bangkok को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।
असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा आयोजना गरिएको शिविरबाट एक हजार दुई जना कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । शिविरमा ६४१ महिला र ३६१ पुरुष सहभागी भएका थिए ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको उनले जानकारी दिए ।
शिविरको उद्घाटन नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति
शिविरसँगै कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपालमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा पनि सहकार्यको पहल भएको छ ।
लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरअन्तर्गत रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशीला पटेलको नेतृत्वमा विशेषज्ञ टोलीले आँखा परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरेको थियो ।
यसैबीच सङ्घका महासचिव भरतबहादुर चन्दको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, जनशक्ति विकास र संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको छ ।
नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा उपचार, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको सङ्घले जनाएको छ ।
सङ्घका महासचिव चन्दले अन्तर्राष्ट्रिय सहकार्यले नेपाल–कम्बोडिया सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाललाई आँखा उपचार, चिकित्सा शिक्षा र स्वास्थ्य पर्यटनको क्षेत्रमा थप पहिचान दिलाउन सहयोग पुग्ने बताए ।
सङ्घका उपाध्यक्ष एवं रणअम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाले नेपालले आँखा स्वास्थ्य सेवामा हासिल गरेको अनुभव र दक्षता अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताए ।
अस्पताल व्यवस्थापक प्रकाश रायमाझीले शिविर सफल बनाउन नेपाली राजदूतावास, स्थानीय सरकार, कम्पोङ चाम प्रान्तीय अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।
सङ्घका अनुसार स्थापनादेखि सन् २०२५ को अन्त्यसम्ममा उसका २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत नेपाल तथा अन्य देशका गरी पाँच करोडभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५६ लाखभन्दा बढी आँखाको शल्यक्रिया सम्पन्न भएको सङ्घले जनाएको छ ।




