२०८३ श्रावण ११

स्वास्थ्य बिमा पुनर्संरचनाका लागि रास्वपाले  मन्त्री मेहतालाई मार्गचित्र

काठमाडौँ ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र हस्तान्तरण गरेको छ।

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले मन्त्री मेहतालाई उक्त मार्गचित्र बुझाएकी हुन्। मार्गचित्र बुझ्दै मन्त्री मेहताले रास्वपाको बाचापत्रमा उल्लेख गरिएअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने जानकारी दिइन्।

डा. कार्कीका अनुसार रास्वपाको गत फागुनमा सम्पन्न महाधिवेशनबाट पारित बाचापत्रमा समेटिएका प्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रमको सुधार र पुनर्संरचनाका लागि मार्गचित्र तयार गरिएको हो।

उनले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक रूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता समेटिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मार्गचित्र मन्त्रीलाई बुझाइएको बताइन्।

डा. कार्कीले स्वास्थ्य बिमा ऐनका केही महत्त्वपूर्ण प्रावधान संशोधन गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन्। स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र नागरिकमैत्री बनाउन रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

रास्वपाले स्वास्थ्य बिमाको वर्तमान अवस्था, देखिएका समस्या, आवश्यक सुधार, स्रोत व्यवस्थापन तथा विभिन्न सरोकारवालासँगको परामर्श र अध्ययनपछि स्वास्थ्य बिमा पुनर्संरचनाका लागि उक्त मार्गचित्र तयार गरेको जनाएको छ।

Read More

उमेर घटाउने प्रविधिको पहिलो मानव परीक्षण शुरु

काठमाडौँ । चिकित्सा विज्ञानको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक मानिएको बुढ्यौलीको प्रभाव उल्ट्याउने उपचार प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ । पहिलो पटक उमेर बढ्दै जाँदा शरीरमा पर्ने असरलाई कम गर्ने उद्देश्यले विकसित गरिएको विशेष सुई एक व्यक्तिमा प्रयोग गरिएको छ ।

अमेरिकाको बोस्टनस्थित जैविक प्रविधि कम्पनी ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई कोशिका पुनःकार्यक्रमीकरण प्रविधिमा आधारित सुई दिइएको जनाएको छ । परीक्षणअन्तर्गत कालो मोतियाबाट पीडित एक बिरामीको एउटा आँखामा उक्त सुई प्रयोग गरिएको हो ।

यस परीक्षणको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः सक्रिय र युवा अवस्थाजस्तै बनाउनु रहेको छ । वैज्ञानिकहरूले आगामी ६ महिनासम्म यसको प्रभाव तथा सम्भावित दुष्प्रभावबारे निगरानी गर्नेछन् ।

चिकित्सक र अनुसन्धानकर्ताहरूले अब बिरामीको स्वास्थ्य अवस्थामाथि निरन्तर सूक्ष्म अध्ययन गर्नेछन्, जसबाट यो प्रविधि मानव शरीरका लागि सुरक्षित छ वा छैन भन्ने पुष्टि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपचार प्रक्रियाअन्तर्गत सबैभन्दा पहिले बिरामीको आँखामा एकपटक मात्र दिइने जीन उपचारसम्बन्धी सुई लगाइएको छ। त्यसपछि केही सातासम्म विशेष प्रकारका जीवाणुनाशक औषधिको सेवन गराइनेछ ।

यी औषधिले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनलाई सक्रिय बनाउने काम गर्नेछन् । ती जीन सक्रिय भएपछि कोशिकाहरूलाई पुनः युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा यो प्रविधिले दृष्टि क्षमतामा उल्लेखनीय सुधार ल्याएको थियो ।

मानव परीक्षणका लागि आँखालाई छनोट गर्नुको कारण शरीरका अन्य अङ्गको तुलनामा आँखालाई अलग र सुरक्षित रूपमा अध्ययन गर्न सकिने भएकाले हो। यसले सम्भावित दुष्प्रभावको निगरानी गर्न पनि सहज बनाउँछ ।

लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलफलिनले यो उपलब्धि केवल आफ्नो कम्पनी वा बुढ्यौलीसम्बन्धी जीवविज्ञानका लागि मात्र नभई सम्पूर्ण चिकित्सा विज्ञानका लागि सम्भावित रूपमा ऐतिहासिक र परिवर्तनकारी क्षण भएको बताएका छन् ।

यदि यो क्लिनिकल परीक्षण सफल भयो भने बुढ्यौलीसम्बन्धी उपचार क्षेत्रमा नयाँ युगको सुरुआत हुन सक्ने विश्वास गरिएको छ । यसको दीर्घकालीन लक्ष्य शरीरका सबै कोशिकालाई पुनः सक्रिय र युवा बनाउनुका साथै उमेर बढ्दै जाँदा वंशाणु सामग्रीको कार्यप्रणालीमा हुने परिवर्तनलाई सुधार गर्नु रहेको छ ।

यस प्रविधिमा विश्वका ठूला लगानीकर्ताहरूले समेत चासो देखाएका छन्। अमेजनका संस्थापक जेफ बेजोस तथा ओपनएआईका प्रमुख स्याम अल्टम्यानसहित विभिन्न लगानीकर्ताले यस क्षेत्रमा लगानी गरेका छन् । साथै विश्वका प्रमुख औषधि उत्पादक कम्पनीहरूले पनि यस प्रविधिमा लगानी विस्तार गरिरहेका छन् ।

यसअघि मुसा र बाँदरसम्म सीमित रहेको अनुसन्धान अब मानव परीक्षणको चरणमा प्रवेश गरेको छ।

Read More

विश्व रक्तदाता दिवस मनाइदै

काठमाडौं । आज विश्व रक्तदाता दिवस । आज विश्वभर ‘मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ । 

सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ । 

नेपालमा दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।

नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेको आँकडा छ । नेपालमा पुरुष रक्तदाता ८६. १ र महिला १३. ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपनि केन्द्रिय रक्तसन्चार केन्द्रले सहयोग र समन्वय नगरेको स्वयंसेवी रक्तदाताले गुनासो गरेका छन् । 

रक्तदान गर्नुपर्छ भन्ने सचेतना बढ्दै गएपनि रगतको सहज आपूर्ति हुन नसकेको, रगत किनबेच हुने गरेको र भनसुनको भरमा रगत पाउनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको गुनासो छ ।

Read More

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

काठमाडौँ । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१४ हेगौलीमा बंगुरको मासु खादा १६ जनामा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको छ ।

अस्वस्थ भएका सबैलाई स्थानीय प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालमा उनीहरूको उपचार भइरहेको र स्वास्थ्य अवस्था निगरानीमा राखिएको जनाइएको छ ।

हेगौलीका १०५ घरधुरीका स्थानीयले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज खाएको प्रहरीले जानकारी दिएको छ ।

Read More

पूर्वी कङ्गोमा इबोला प्रकोप तीव्र, मृतक संख्या १०० नाघ्यो

काठमाडौँ । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम अवधिमै मृतक संख्या १०० नाघेको छ। स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सङ्क्रमण तीव्र रूपमा फैलिरहेको देखिएको छ भने वास्तविक प्रभावितको संख्या अझै बढी हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १०१ जनाको मृत्यु भएको छ भने १९ जना उपचारपछि निको भएका छन्। यो तथ्याङ्क सोमबार सार्वजनिक गरिएको पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो।

अधिकारीहरूका अनुसार रोग फैलिन थालेको केही सातापछि मात्रै प्रकोपको औपचारिक पुष्टि भएकाले नियन्त्रण तथा रोकथामका प्रयासमा थप जटिलता उत्पन्न भएको छ। प्रारम्भिक चरणमै प्रभावकारी निगरानी र हस्तक्षेप हुन नसक्दा सङ्क्रमण विस्तार हुन पुगेको बताइएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दाबाट विरोध र आक्रोशपूर्ण प्रतिक्रिया सामना गर्नुपरेको छ। साथै स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना र विभिन्न सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको अधिकारीहरूको भनाइ छ। जनविश्वासको कमीका कारण परीक्षण, उपचार तथा सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) सम्बन्धी कार्यसमेत प्रभावित बनेको छ।

स्वास्थ्य विज्ञहरूले आधिकारिक तथ्याङ्कले वास्तविक अवस्थाको पूर्ण चित्रण नगर्न सक्ने चेतावनी दिएका छन्। दुर्गम क्षेत्र, कमजोर स्वास्थ्य पहुँच र असुरक्षित सुरक्षा अवस्थाका कारण धेरै सङ्क्रमित व्यक्ति पहिचानबाहिर रहेको आशङ्का गरिएको छ। यसले महामारी थप फैलिने जोखिम बढाएको विज्ञहरूको भनाइ छ।

यसपटकको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ प्रकारको इबोला भाइरसका कारण फैलिएको हो। यो प्रकार कङ्गोमा विगतमा बढी देखिने ‘जाइर’ प्रकारभन्दा फरक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। जाइर प्रकारका लागि खोप तथा उपचार उपलब्ध भए पनि बुन्डिबुग्यो प्रकारविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार विकसित भइसकेको छैन।

विश्लेषकहरूका अनुसार लामो समयदेखि जारी सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र सरकारी निकायप्रतिको सीमित जनविश्वासका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान बारम्बार चुनौतीपूर्ण बन्दै आएको छ। वर्तमान प्रकोपमा पनि यिनै कारणहरूले नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरिरहेको देखिएको छ।

Read More

बर्डफ्लु नियन्त्रणका लागि सरकारको आकस्मिक अभियान, १० जिल्लामा पाँच लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौँ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा थप फैलावट रोक्न आकस्मिक अभियान सञ्चालन गरेको छ। रोग पुष्टि भएका १० जिल्लामा हालसम्म ७२ वटा फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार प्रभावित पन्छीमध्ये सबैभन्दा बढी लेयर्स कुखुरा तथा स्थानीय जातका कुखुरा रहेका छन्। सरकारको निर्देशनमा परिचालित ‘द्रुत कार्य टोली’ले रोग नियन्त्रणका क्रममा करिब सात लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरेको छ।

केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु क्रमशः महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लासहित पछिल्लो समय नवलपरासीसम्म फैलिएको विभागले जनाएको छ।

महानिर्देशक दाहालले बर्डफ्लुको कुनै प्रभावकारी उपचार नभएको उल्लेख गर्दै रोग देखिएलगत्तै नियन्त्रणमा लिनु नै यसको प्रमुख उपाय भएको बताए। “रोग फैलिन नदिन संक्रमित क्षेत्रका पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। त्यसैले पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा खटिएर नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन्,” उनले भने।

विभागका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। यद्यपि चितवनसहित मुलुकका अन्य अधिकांश प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणको अवस्थामा पुगेको जनाइएको छ।

थप संक्रमण रोक्न प्रभावित क्षेत्रका सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार रोग नियन्त्रणका क्रममा पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था छ। लागत मूल्य जिल्ला तथा स्थानीय अवस्थाअनुसार फरक हुन सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवाला निकायको बैठकले राहत रकम निर्धारण गर्ने महानिर्देशक दाहालले जानकारी दिए।

Read More

बेड संख्याअनुसार शुल्क नतिर्ने यी ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल गर्ने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

जस अनुसार चितवन मेडिकल कलेज भरतपुर, चितवनसँग ७ लाख, नेपाल मेडिसिटी अस्पतालसँग १८ लाख, गण्डकी मेडिकल कलेज पोखरासँग १० लाख, नोबेल मेडिकल कलेज, विराटनगरसँग २४ लाख ४४ हजार, नेपाल मेडिकल कलेज (विराटनगर/काठमाडौँ) सँग १० लाख असुल गर्ने निर्णय भए छ ।

त्यस्तै किष्ट मेडिकल कलेज (ललितपुर) सँग १८ लाख, धुलिखेल अस्पताल (काभ्रे) सँग १७ लाख र मणिपाल कलेज (पोखरा) सँग १८ लाख, काठमाडौँ मेडिकल कलेज (काठमाडौँ) सँग १८ लाख, देवदह मेडिकल कलेज (देवदह) सँग ८ लाख र युनिभर्सल मेडिकल कलेज (भैरहवा) सँग ३० लाख असुल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

Read More

खाद्य स्वच्छता सुधारमा सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनस्वास्थ्य सुधारका लागि खाद्य स्वच्छता प्रणालीलाई सुदृढ बनाउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छिन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले खाद्यजन्य रोगहरू अहिले गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताइन्।

मन्त्री मेहताका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। साथै खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन र आवश्यक नीतिगत सुधारलाई पनि तीव्रता दिइने उनले बताइन्।

उनले खाद्य उत्पादनदेखि उपभोगसम्म सबै चरणमा स्वच्छता कायम राख्नु सरकारको दायित्व भएको उल्लेख गर्दै असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिइन्।

यस्ता अभ्यासले गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन सहयोग गर्ने र अस्वस्थ खानपानका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षति घटाउन मद्दत पुग्ने उनको भनाइ छ।

मन्त्री मेहताले यस दिवसले खाद्य श्रृंखलामा संलग्न सबै सरोकारवालालाई स्वच्छ खानपानप्रति थप जिम्मेवार बनाउन प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन्।

यस वर्ष विश्वभर “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान” भन्ने नारासहित दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खानाका कारण प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने र करिब ४ लाख २० हजारको मृत्यु हुने गरेको तथ्यांक छ।

Read More

दूषित तथा असुरक्षित खाना विश्वव्यापी गम्भीर संकट बन्दै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खाद्य सुरक्षा सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै दूषित तथा असुरक्षित खाना विश्वव्यापी गम्भीर संकट बन्दै गएको चेतावनी दिएको छ । रिपोर्टअनुसार हरेक वर्ष विश्वभर करिब ८६ करोड ६० लाख मानिस दूषित भोजनका कारण बिरामी पर्छन् भने करिब १५ लाख मानिसको ज्यान जाने गरेको छ ।

सबैभन्दा चिन्ताजनक कुरा भनेको यो समस्या पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा बढी देखिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगको करिब एक तिहाइ भार यही उमेर समूहमा पर्छ, जबकि उनीहरू विश्व जनसंख्याको करिब ९ प्रतिशत मात्र हुन् ।

रिपोर्टमा साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित नहुने भएकाले उनीहरू संक्रमण र विषाक्त पदार्थप्रति बढी संवेदनशील हुने उल्लेख छ । दूषित खानाबाट हुने झाडापखाला जस्ता रोग बालबालिकामा छिटो फैलिने मात्र होइन, कतिपय अवस्थामा ज्यानै जाने जोखिम पनि रहने उल्लेख गरिएको छ । साथै खानामा पाइने सिसा र मिथाइलमरकरी जस्ता विषाक्त पदार्थले बालबालिकाको मस्तिष्क विकासमा असर पार्ने, सिक्ने क्षमता घटाउने र दीर्घकालीन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले खाद्यजन्य रोगका मुख्य दुई कारण देखाएको छ । जैविक खतरा र रासायनिक प्रदूषण । जैविक कारणमा ब्याक्टेरिया, भाइरस र परजीवी पर्छन्, जसले अधिकांश रोग निम्त्याउने गरेको रिपोर्टमा उल्लेख छ । सन् २०२१ मा मात्र करिब ८६ करोड केस यिनै संक्रमणसँग सम्बन्धित थिए ।

अर्कोतर्फ रासायनिक प्रदूषणका केस संख्या कम भए पनि बढी घातक देखिएको छ । रिपोर्टअनुसार सन् २०२१ मा दूषित खानाका कारण भएका कुल मृत्यु मध्ये करिब ७३ प्रतिशत रासायनिक तत्वसँग सम्बन्धित थिए ।

असुरक्षित खानाले अर्थतन्त्रमा पनि ठूलो असर पारेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसका कारण प्रत्येक वर्ष करिब ३१० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन्छ । जीवनयापन खर्च र खरिद क्षमतालाई आधार मान्दा यो क्षति बढेर करिब ६४७ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । उपचार खर्च, काममा अवरोध र उत्पादकत्व घट्नु यसको मुख्य कारण मानिएको छ ।

रिपोर्टले अफ्रिका र दक्षिणपूर्वी एसियालाई सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखाएको छ । विश्वभरका करिब तीन चौथाइ केस र ६० प्रतिशतभन्दा बढी मृत्यु यही क्षेत्रमा हुने गरेको उल्लेख छ । यसको मुख्य कारण सुरक्षित खानाको अभाव, सफा पिउने पानीमा सीमित पहुँच, कमजोर सरसफाइ व्यवस्था र स्वास्थ्य सेवाको कमी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Read More

काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका  प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् । 

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्‍याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरि प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएका हुन् । 

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् ।

त्यस क्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे । 

महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ । 

Read More